खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व



सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।

पालिकाले खुम्बु क्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । आठ महिना अवधिमा ३१ हजार सात सय २५ जना विदेशी नागरिकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

सबैभन्दा बढी कात्तिक महिनामा ११ हजार छ सय तीन जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । त्यसै गरी साउनमा तीन सय २३ जना, भदौमा एक हजार सात सय नौ जना, असोजमा एक हजार आठ सय दुई जना विदेशी पर्यटक खुम्बु पुगेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै मङ्सिरमा दुई हजार आठ सय जना, पुसमा एक हजार तीन सय दुई जना, माघमा छ सय दुई जना र फागुनमा दुई हजार पाँच सय ८४ जना विदेशी पर्यटकले सो क्षेत्र भ्रमण गरेको गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो ।

पालिकाले स्थानीय शुल्क स्वरूप एक जना विदेशी पर्यटकबाट रु दुई हजार प्रवेश शुल्क लिने गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले विसं २०७४ देखि शुल्क लिन सुरु गरेको थियो । त्यसअघि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले टिम्स कार्डबापत पर्यटक बापत रु दुई हजार शुल्क लिने गरेको थियो ।

गाउँपालिकाले लिएको शुल्कले पर्यटन पूर्वाधार निर्माणलगायत काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कोङ्दे, आमादब्लमलगायतका हिमशृङ्खला खुम्बु पासाङल्हामू गाउँपालिकाभित्र पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x