सिमेन्ट उद्योगमा दबाब र सम्भावना: उच्च उत्पादन क्षमता र सुस्त पुँजीगत खर्चले नाफा संकुचन, पुनरुत्थानको आधार के?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँचवटा सिमेन्ट कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणले उद्योगमा देखिएको नाफा संकुचन र नोक्सानीको दबाबलाई उजागर गरेको छ। समीक्षा अवधिमा तीन कम्पनी नाफामा र दुई कम्पनी घाटामा रहे पनि नाफामा रहेका कम्पनीहरूको खुद मुनाफा ५० प्रतिशतभन्दा बढीले खुम्चिँदा उद्योगको औसत खुद नाफा नै ऋणात्मक (२ करोड ११ लाख रुपैयाँ घाटा) बनेको छ।

यसै सन्दर्भमा क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल (CareEdge Ratings Nepal) ले सार्वजनिक गरेको पछिल्लो विश्लेषण प्रतिवेदनले सिमेन्ट उद्योगको विद्यमान संरचनागत चुनौती, पुँजीगत खर्चको सुस्तता र आगामी दिनको सम्भावनालाई स्पष्ट पारेको छ।


क्षमता र मागबीचको असन्तुलन केयर रेटिङ्स नेपालको प्रतिवेदनअनुसार नेपालको सिमेन्ट उद्योगमा मागभन्दा उत्पादन क्षमता निकै बढी रहेको छ। हाल देशभर सिमेन्टको वार्षिक ग्राइन्डिङ क्षमता करिब २ करोड २० लाख टन (२२ Mt) पुगेको अनुमान छ, तर वार्षिक घरेलु खपत करिब ८० लाख टन (८ Mt) मात्र रहेको छ। यसले गर्दा राष्ट्रिय स्तरमा उद्योगको क्षमता उपयोग करिब ३५ देखि ४० प्रतिशत मा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा उच्च ब्याजदर, संकुचित मौद्रिक नीति र सुस्त पुँजीगत खर्चका कारण सिमेन्टको माग कमजोर रहेको थियो। पछिल्लो समय ब्याजदर घट्दै जाँदा निजी आवास र व्यावसायिक निर्माणमा केही सुधार देखिए पनि सरकारी पुँजीगत खर्चको ढिलाइले संस्थागत मागमा अपेक्षित गति आउन नसकेको विश्लेषण गरिएको छ।

पुँजीगत खर्च र पुनर्निर्माणको ढिलाइ महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई उद्धृत गर्दै प्रतिवेदनले बजेट विनियोजन र वास्तविक खर्चबीचको खाडललाई मुख्य अवरोध औँल्याएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरिए पनि पहिलो चार महिनामा ३२ अर्ब रुपैयाँ (७.५ प्रतिशत) मात्र खर्च भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा कुल पुँजीगत बजेट ४ खर्ब ८ अर्बमध्ये १९१ अर्ब रुपैयाँ (४६.८ प्रतिशत) मात्र खर्च हुन सकेको थियो।

त्यस्तै, पछिल्ला वर्षहरूमा बाढीपहिरो तथा विभिन्न प्राकृतिक र राजनीतिक घटनाक्रमबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणले मध्यकालीन अवधिमा सिमेन्टको माग बढाउने सम्भावना रहे पनि बजेट निकासा, ठेक्का व्यवस्थापन र निर्माण कार्यको गतिमा निर्भर रहने प्रतिवेदनको ठहर छ।

निर्यात र लागतको चुनौती अधिक रहेको उत्पादन क्षमता खपत गर्न भारत सहज निर्यात बजार भए पनि बीआईएस (BIS) प्रमाणीकरण, निर्यात अनुदान भुक्तानीमा ढिलाइ, सीमापार लजिस्टिक्स र मूल्य प्रतिस्पर्धाका कारण सिमेन्ट तथा क्लिङ्कर निर्यात अस्थिर बनेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको पहिलो तीन महिनामा सिमेन्ट तथा क्लिङ्कर निर्यात ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७९ करोड ४० लाख रुपैयाँको तुलनामा कम हो।

यसबाहेक, कोइला, इन्धन, विद्युत् महसुल, ढुवानी लागत र उधारो असुली (Receivables) चक्र लम्बिनुले उद्योगको मार्जिन र नगद प्रवाहमा दबाब पारिरहेको छ।

प्रथम त्रैमासिक वित्तीय विवरण र कम्पनीगत अवस्था यिनै उद्योगगत चुनौतीका बीच नेप्सेमा सूचीकृत पाँच सिमेन्ट कम्पनीको चालु आवको पहिलो त्रैमासिक विवरण यस्तो देखिएको छ:

कम्पनीको नाम चुक्ता पुँजी (रु.) जगेडा कोष (रु.) खुद नाफा/नोक्सान (रु.) वार्षिककृत इपीएस (रु.) प्रतिसेयर नेटवर्थ (रु.)
सर्वोत्तम सिमेन्ट ५ अर्ब २२ करोड ४२ लाख ८० हजार ५ अर्ब २४ करोड १८ लाख ७० हजार १० करोड ३९ लाख ४० हजार ७.९६ २००.३४
शिवम् सिमेन्ट्स ५ अर्ब ५९ करोड ३२ लाख ३० हजार ५ अर्ब ३ करोड ५७ लाख २० हजार ७ करोड ६ लाख ३० हजार ५.०५ १९०.०३
सोनापुर मिनरल्स ३ अर्ब ७ करोड ५० लाख ५० हजार ३ अर्ब ११ करोड ९१ लाख ६० हजार १ करोड ९३ लाख १० हजार २.५१ २०१.४३
घोराही सिमेन्ट ५ अर्ब २ करोड ४४ लाख ५० हजार ३ अर्ब ११ करोड ८९ लाख ५० हजार (१६ करोड १५ लाख २० हजार) -१२.८६ १६२.०८
पाल्पा सिमेन्ट ३ अर्ब ७५ करोड ९५ करोड ५६ लाख १० हजार (१३ करोड ७६ लाख ५० हजार) -१४.६८ १२५.४८

केयर रेटिङ्स नेपालका अनुसार आर्थिक वर्ष २०८३/८४ र २०८४/८५ का लागि सिमेन्ट क्षेत्रको दृष्टिकोण ‘सतर्कतापूर्वक सकारात्मक’ रहे पनि वास्तविक सुधार सरकारी पुँजीगत खर्चको कार्यान्वयन, भरपर्दो विद्युत् आपूर्ति, क्षमता उपयोग र कार्यशील पुँजी (Working Capital) व्यवस्थापनमा निर्भर रहनेछ। चुनढुङ्गा खानीमा आफ्नै पहुँच, ऊर्जा दक्षता र बलियो जगेडा कोष भएका कम्पनीहरूले चुनौतीपूर्ण चक्रलाई तुलनात्मक रूपमा सहजै पार लगाउन सक्ने विश्लेषण गरिएको छ।

(स्रोत: केयर रेटिङ्स नेपालको प्रतिवेदन तथा कम्पनीहरूले सार्वजनिक गरेको चालु आव २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x