वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक: निजी पुँजी र जोखिम पुँजी प्रवर्द्धनका लागि ७ दिनभित्र सुझाव माग


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुलुकमा निजी पुँजी (प्राइभेट इक्विटी) तथा जोखिम पुँजी (भेन्चर क्यापिटल) को पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले उक्त मस्यौदामाथि सरोकारवाला तथा इच्छुक पक्षहरूबाट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राय तथा सुझाव माग गरेको छ।

बैंक ऋण र सार्वजनिक पुँजी बजारबाट मात्रै उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनमा आधारित स्टार्टअप व्यवसाय, साना तथा मझौला उद्यम (एसएमई) र प्रविधि विकासका लागि पर्याप्त पुँजी जुटाउन कठिन हुने बोर्डको निष्कर्ष छ। दीर्घकालीन जोखिम वहन गर्न सक्ने वित्तीय स्रोत परिचालन गर्न र वित्तीय स्रोतहरूको विविधीकरणका लागि वैकल्पिक लगानीका माध्यमलाई निजी लगानी बजारका रूपमा विकास गर्न आवश्यक रहेको बोर्डले औँल्याएको छ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा निजी लगानी बजारको तीव्र विकास भइरहेको सन्दर्भमा बोर्डले विश्वव्यापी अभ्यास र मापदण्डअनुरूप विद्यमान ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ लाई परिमार्जन गरी यसको नाम ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ प्रस्ताव गरेको हो। यसअघि बोर्डले ‘नेपालमा निजी पुँजी तथा जोखिम पुँजीको पारिस्थितिक प्रणालीको मूल्याङ्कन र नियामकीय सुधारसम्बन्धी अध्ययन, २०८३’ समेत सार्वजनिक गरिसकेको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, अर्थ मन्त्रालयको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ र बोर्डको पुँजी बजार नीतिको कार्यान्वयनका क्रममा यो नयाँ नियमावली ल्याउन लागिएको हो। यसले आर्थिक रूपान्तरण, उद्यमशीलता विकास र पुँजी बजारको दिगो विस्तारका लागि दीर्घकालीन पुँजीको उपलब्धता बढाउने अपेक्षा गरिएको छ।

बोर्डले मस्यौदाका मुख्य विशेषता र प्रस्तावित परिवर्तनहरूसहितको पूर्ण पाठ सार्वजनिक समीक्षाका लागि उपलब्ध गराएको छ। सरोकारवालाहरूले आफ्ना राय तथा सुझावहरू बोर्डको इमेल ठेगाना ([email protected]) मार्फत पठाउन सक्नेछन्। प्राप्त सुझावहरूको समीक्षा गरी नियमावलीलाई अन्तिम रूप दिइने बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x