मागेको पोशाकले सिकेको कराते , जसले स्वर्णपदक चुम्यो

ज्ञानमाण्डू।साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरू प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरूले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न सुरु गर्‍यौ ।” 

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक चुम्दा नवीनले तिनै सङ्घर्षपूर्ण दिनहरू सम्झे । काठमाडौँको बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्लको नाम मनमनै लिए । बागलुङ, तमानखोला गाउँपालिका–२ बाट काठमाडौँ झरेकै वर्षदेखि सुरु भएको थियो, उनको कराँते यात्रा । रसाइली परिवारभित्र २४ वर्षीय नवीनले मात्र करातेलाई लक्ष्य बनाएका छैनन् । २६ वर्षीय दाइ राजकुमारले पनि आफ्ना ऊर्जाशील १२ वर्ष करातेलाई दिइसकेका छन् । “बुबाआमासहित काठमाडौँ गएदेखि नै कराते खेल्न सुरु गर्‍यौ”, उनले भने, “दुई भाइले सँगै सिक्यौँ, अहिले खेल्दै छौँ ।” तेह्रौँ सागमा पनि दुवैले भाग लिए । 

नवीनले स्वर्ण र राजकुमारले कांस्य पदक चुमे । “सागमा स्वर्ण जित्नु नै मेरो अहिलेसम्मकै ठुलो उपलब्धि हो”, नवीनले भने, “जुन मिहिनेत र समर्पणका साथ करातेमा लागेँ त्यसको प्रतिफल पाएँ जस्तो लाग्छ ।” करातेमा लाग्दाका कठिन र चुनौतीपूर्ण दिनलाई नै रसाइली दाजुभाइले सफलताको जग मान्छन् । बागलुङको सुदूर गाउँबाट काठमाडौँ छिर्दा उमेर सानै थियो । कुनै ठुलो सपना थिएन । खेलमा भविष्य देख्नु त झन् टाढैको कुरा । तत्कालको उद्देश्य पढ्नु नै थियो । विद्यालय भर्ना भए । खुरुखुरु पढाइमा जान थाले । सँगैका साथीहरू बालाजु कराते–डो प्रतिष्ठानमा कराते सिक्थे । उनीहरू खेल हेर्न जान्थे । त्यही प्रतिष्ठान हो जहाँ रसाइली दाजुभाइले साथीको पोसाक लगाएर कराते सिकेका थिए । 

करातेमा लागेपछि उनीहरू पछाडि फर्कनु परेन । एकपछि अर्को सफलताले पछ्याइरह्यो । खेल प्रतिभाको कदर गर्दै बालाजुको ज्ञान मन्दिर माविले राजकुमारलाई कक्षा ९ र १० छात्रवृत्तिमा पढायो । गोल्डेन गेट कलेजले कक्षा ११–१२ मा ५० प्रतिशत छुट दियो । नवीनले भने एसएलसी ब्राइट हेभन स्कुलबाट गरे । दुवै भाइले पढाइसँगै खेल जीवनलाई अघि बढाए । “अहिले पनि बिहान २ र बेलुकी २ घण्टा प्रशिक्षणमै हुन्छौँ”, राजकुमारले भने, “करातेमा हामीलाई यहाँसम्म ल्याउने बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्ल हुनुहुन्छ, उनी नेपाली करातेको ‘गडफादर’ नै हुन् ।” एक दशकभन्दा बढीको खेल जीवनमा रसाइली दाजुभाइले कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

नेपालका लागि खेल्न दर्जनभन्दा बढी देश पुगेका छन् । पदकमा तुलनात्मक रूपमा नवीन अगाडि छन् । उनले सन् २०१४, २०१६ मा भारत र २०१७ मा श्रीलङ्कामा भएको साउथ एशियन च्याम्पियनशिपमा लगातार स्वर्ण जितेर ह्याट्रिक गरेका थिए । राजकुमारले गत वर्ष बङ्गलादेशमा भएको सोही खेलमा रजत पदक हात पारेका थिए । उनले सन् २०१८ मा भएको कोरिया ओपन कराते च्याम्पियनशिपमा स्वर्ण जितेका थिए । सन् २०१० देखि नै व्यावसायिक रूपमा कराते खेल्न थालेको राजकुमारको भनाइ छ । “सन् २०१३ मा राष्ट्रिय खेलकुदमा भाग लिएँ, खेल्नकै लागि भारत, मलेसिया, कोरिया, जापान, थाइल्यान्डलगायत देश पुगेको छु”, राजकुमारको भनाइ छ । 

उनले सातौँमा कांस्य र यही वर्ष भएको आठौँ राष्ट्रिय खेलकुदमा रजत पदक जितेका थिए । नवीनले भने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । नवीन यही वर्ष जापानमा हुने ओलम्पिकमा समेत नेपालका तर्फबाट भाग लिन प्रयासरत छन् । ओलम्पिक छनोटका वल्र्ड सिरिज, प्रिमियर लिग, एशियाली खेलकुद र एशियन कराते च्याम्पियनशिप खेल्नुपर्ने मापदण्ड छ । “ओलम्पिकको लक्ष्य लिएर केही सिरिज र लिग खेल्दै छु, विश्वभरका एक सय खेलाडीको ‘र्याङ्किङ्’मा मेरो नाम ९९ मा छ, मापदण्ड पूरा गरेर अन्तिम ३२ मा परेँ भने ओलम्पिक खेल्न पाउँछु”, नवीनको भनाइ छ । आउँदो ओलम्पिकमा पहिलो पटक कराते समावेश हुँदै छ । ओलम्पिक खेल्न पाउनु नै नवीनका लागि जीवनकै ठुलो सफलता हुनेछ । “खेलले इज्जत दिएको छ, देशको गौरवका लागि खेल्न पाएका छौँ”, रसाइली दाजुभाइ भन्छन्, “राज्यले पनि खेल क्षेत्र र खेलाडीलाई हेरोस् ।” 

राजकुमारले अहिलेसम्म परिवारको सहयोगमा खेलमा लागे पनि अब परिवारलाई सहयोग गर्ने बेला आएको बताए । “हामीमा पनि परिवारको जिम्मेवारी थपिँदै छ, खेलाडीलाई आर्थिक सहायता, रोजगारी जस्ता कार्यक्रम सरकारले ल्याउनुपर्छ”, उनको भनाइ छ । अझै दश वर्ष सक्रिय रूपमा करातेमा बिताउने योजना रसाइली दाजुभाइको छ । तेह्रौँ सागमा पदक जितेपछि गृहजिल्लावासीले उनीहरूलाई सम्झे । जिल्ला र देशकै गौरव बढाएका खुसी साटासाट गरे । बागलुङ नगरपालिका, नेपाल कराते सङ्घ बागलुङ, मालिका सेवा समाज बागलुङलगायत थुप्रै सङ्घसंस्थाले नगदसहित सम्मानित गरे । एक घरका दाजुभाइले खेलमा देखाएको समर्पण र पाएको सफलता खेलाडी एवं खेल प्रेमीमाझ प्रेरणा बनेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x