१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम

ज्ञानमाण्डू।बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्रहालयप्रतिको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको हो । 

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर मनै लोभ्याउने गरी सङ्ग्रहालय निर्माण गरिएको हो । यसको रोचक र ऐतिहासिक पक्ष के छ भने अझ पनि धेरैलाई थाहा नभएको र जानकारी हुनुपर्ने अर्थात् गराउनुपर्ने विषय सङ्ग्रहालयमा करिब १० मिनेट समय निकालेर घुम्दा पवित्र धार्मिक स्थलको यात्रा अनुभूतिसमेत हुन्छ । यहाँ मुस्ताङको पवित्र धार्मिक स्थल दामोदर कुण्डदेखि नवलपुरको त्रिवेणी धामसम्मको अनेक परिदृश्य हेरेर पृथक् आनन्द लिन सकिने सुविधा पनि छ । 

शालिग्राम दर्शनका लागि आउने जो कोहीलाई ५० मिटर लामो संरचनामा बनेको त्रिवेणी धामदेखि दामोदर कुण्डसम्मको धार्मिक नमुनाले लोभ्याउने गरेको छ । सङ्ग्रहालयभित्र कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्डदेखि त्रिवेणीसम्म कालीगण्डकी नदी वरपर रहेका धार्मिक तथा प्राकृतिक सभ्यता दुरुस्त उतारिएको छ । त्रिवेणी धामदेखि दामोदर कुण्डको यात्रा, विभिन्न मठमन्दिरको केही समयमै दर्शन गर्न मिल्ने गरी आकर्षक शैली र सोचमा संरचना निर्माण गरिएको शालिग्राम सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताएका छन् । “कृष्ण गण्डकी खण्ड परिक्रमा गर्न सबैलाई समय, सहज र सम्भव हुँदैन”, स्वामी प्रपन्नाचार्यले भने , “सङ्ग्रहालयभित्रै गण्डकी सभ्यतालाई उतारिएको छ, धर्म प्राप्तिका लागि यही परिक्रमा गर्न सक्नुहुनेछ ।” 

प्रपन्नाचार्यका अनुसार कृष्ण गण्डकी खण्डमा नवलपुरको त्रिवेणी धामदेखि मुस्ताङको दामोदर कुण्डसम्मको तीर्थस्थल, सभ्यता चित्रण गरिएको छ । कृष्ण गण्डकी खण्डमा त्रिवेणी धाम, देवघाट धाम, कोदाडीघाट, राम्दी, सिद्ध गुफा, उत्तरायणी मालुङ्गा, रिडी, रुद्रवेणी, सेतीवेणी, मोदीवेणी, गुप्तेश्वर गुफा, सहस्रधारा, बागलुङ कालिका, पञ्चकोटधाम, गलेश्वर धाम, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्ड समावेश गरिएको छ । एकै पटक कृष्ण गण्डकी आसपासमा रहेका तीर्थस्थल, सभ्यता र धामहरूको कलाकौशल पनि देखाइएको छ । धार्मिक पर्यटक तथा श्रद्धालु भक्तजनलाई कृष्ण गण्डकी र पुण्य भूमि परिक्रमा गरेको अनुभूति हुने प्रपन्नाचार्यको दाबी छ । 

रु छ करोड लागतमा नवनिर्मित सङ्ग्रहालयमा ध्यान कक्ष, वृत्तचित्र प्रर्दशनीकक्ष, मुक्तिनाथ मन्दिरलगायतका संरचना पनि रहनेछन् । भूमिगत रूपमा निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय मुलुककै पहिलो हो । नेपाल भ्रमण वर्ष २०२० समेत सुरु भएको यस बेलामा घुम्नै पर्ने स्थानमा शालिग्राम सङ्ग्रहालय पर्न थालेको स्थानीयवासी बताउँछन् । 

तिरुपति बालाजीधामस्थित रङ्गबैकेटश्वर मुक्तिनारायण मन्दिर परिसरमा स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माण भएको छ । करिब ७६ मिटर लामो उक्त सुरुङभित्र झन्डै सवा लाख शालिग्राम सुरक्षित गरी राखिएको छ । अहिले शालिग्राम सङ्ग्रहालय हेर्नका लागि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । हाल पर्वत, म्याग्दी तथा बागलुङका विभिन्न स्थान तथा मुक्तिनाथ पुग्ने भारतीय पर्यटकसमेत सङ्ग्रहालय अवलोकनका लागि आउन थालेका छन् । 

शालिग्राम शिलाको संरक्षणको अभावमा हराउँदै गएपछि यहाँको मन्दिरले १४ वर्षदेखि शालिग्राम सङ्ग्रह गर्दै आएको थियो । “शिवजीको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारको चार खण्डमा ७६ मिटर सुरुङभित्र सङ्ग्रहालय छ”, स्वामी प्रपन्नाचार्यले भने , “हिन्दुहरूले पुजन गर्ने शालिग्राम एकैसाथ दर्शनका लागि विश्वका हिन्दु धर्मावलम्बी यहाँ आउनेछन् ।” यसले विशेष गरी मुक्तिनाथ जाने ठुलो सङ्ख्याका भारतीय तीर्थयात्रीलाई जिल्ला भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सङ्ग्रहालय निर्माण भएको परिसरमा वेदविद्याश्रम, कुटी तथा ऐतिहासिक महत्त्व बोकेका आकर्षक साजसज्जा र शैलीमा निर्माण गरिएको रङ्गबैकेटश्वर मन्दिरको दर्शनसमेत गर्न सकिने छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x