निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ ।

नवलपुरको गैँडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर व्यवहारमा हामीले दलहरूले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न सकेको छैनौ । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ ।”


उहाँले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको बताउनुभयो ।

“हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौँ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्‍यो । त्यसले गर्दा अहिले राजश्वमा ठुलो असर गरेको छ,” उहाँले भन्नुभयो ।

हरेक नयाँ नीति तथा नियमहरू बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरूसँग व्यापक छलफल गर्न उहाँले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिनुभएको छ ।

बैङ्कबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उहाँले यसबाट अर्थतन्त्रमा ठुलो समस्या निम्तिन सक्ने सङ्केत गर्नुभयो ।

“केही वर्ष पहिले कुनै एउटा बैङ्कको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैङ्कको निक्षेप फिर्ता लिन बैङ्कमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैङ्कबाट सर्वसाधारणले अस्वाभाविक रूपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैङ्कले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैङ्कबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठुलो सङ्कट निम्ताउन सक्छ,” उहाँले भन्नुभयो ।

उहाँले बैङ्कको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गर्नुभयो ।

“उपस्थित राजनीतिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरू साथीहरूलाई म सोध्न चाहन्छु, बैङ्कको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो । बैङ्कको निक्षेप भनेको त आम जनताको पैसा होला । यदि बैङ्कमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौ भने र बैङ्कलाई मात्र गाली गर्ने गरी कुरा गर्‍यौ भने त्यसको नतिजा के होला,” उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भिडमा तालीका लागि मात्र गैर जिम्मेवार ढङ्गले विषयवस्तु नउठाउन सबैलाई आग्रह गर्नुभयो ।

“म निजी क्षेत्रका साथीहरूलाई पनि भन्न चाहन्छु । तपाईँहरू वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैर जिम्मेवार कुराका पछाडि नलागौँ । यसले कुनै दिन हामीले कल्पना नगरेको सङ्कट निम्ताउन सक्छ,” उहाँले भन्नुभयो ।

कोरोनाभाइरसका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै उहाँले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जाने क्रम घट्दा, नेपाल फर्किएका कामदारहरू तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताउनु भयो ।

त्यस्तै, बाह्य पर्यटकको सङ्ख्या घट्दा र बैङ्कमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरू खुम्चिन बाध्य भएको उहाँले बताउनुभयो ।

“तर अहिले अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उहाँले भन्नुभयो ।

नवलपुरको धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनको सम्भावना भए पनि लामो समयसम्म काम अघि बढ्न नसकेको बताउँदै उहाँले यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह समेत गर्नुभयो ।

“सरकारले हरेक बजेट तथा कार्यक्रममा यो फलाम खानीबाट फलाम उत्पादन गर्ने गरी कारखाना सञ्चालनका लागि कार्यक्रमहरू राख्ने गरेको छ । तर, आजसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । बरु, यसलाई निजी क्षेत्रको जिम्मा दिनुहोस् । हामी यसलाई सञ्चालनमा ल्याउँछौ,” उहाँले भन्नुभयो । 
आगामी चैत्रमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनको प्रसङ्गमा कुरा गर्दै उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

“मलाई साथीहरूले तपाईँले सर्वसम्मत नेतृत्वका लागि सुझाव दिने त होला भन्दै हुनुहुन्थ्यो । म प्रदेशको साथीहरूलाई आग्रह गर्न चाहन्छु । हामी राजनैतिक दलमा जस्तो चुनावी प्रक्रियामा नजाऔँ । केही प्रदेशहरूले सर्वसम्मत नेतृत्व छान्दै राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन् । तपाई गण्डकी प्रदेशका साथीहरूले पनि सर्वसम्मत नेतृत्वको लागि प्रयास गर्नुहोस् । त्यस्तै, केन्द्रका आकाङ्क्षी साथीहरूलाई पनि सकेसम्म निर्विरोध रूपमा नेतृत्व चयन गर्नका लागि म आग्रह गर्न चाहन्छु । त्यसो हुन नसकेमा तपाईँहरूले स्वस्थ र प्रजातान्त्रिक तरिकाबाट निर्वाचन प्रक्रियामा जान म आग्रह गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।

आगामी चैत्रपछि महासङ्घको नेतृत्व लिँदै गरेको प्रसङ्ग उठाउँदै उहाँले गण्डकी प्रदेशको नयाँ नेतृत्वसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x