अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकूल विकास हुन नसकी समस्यामा पर्दै गएको बताउनुभयो ।

पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अहिले आम्दानी र खर्चबिच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ । अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ ।”

केही समयअघि नेपाल पनि श्रीलङ्काको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरू नेपाल सरकार तथा केन्द्रीय बैङ्कले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको उहाँको भनाइ थियो ।

करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि मुलुकका सबै निजी क्षेत्रका तर्फबाट साझा सुझाव दिएको र ती सुझावहरू राज्यका सम्बद्ध निकायले लागू नगर्दा समस्या झन् बल्झिँदै गएको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्‍यो । कानुनी अड्चन हुन गएका अवस्थामा त्यसलाई सहजीकरण गरिदिनुपर्‍यो र वातावरणीय रूपमा दिगो कार्यक्रमहरू अवलम्बन गर्नुपर्‍यो ।”

उहाँले वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको अहिलेको अवस्थामा आन्तरिक स्रोत बढाउन सक्नुपर्ने र यसो गर्न नसकिएमा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको औँल्याउनुभयो ।

निजी क्षेत्रले निर्बाध रूपमा लगानी गरेर काम गर्न पाएको अवस्थामा मात्र पछिल्लो दुई वर्षमा देखिँदै गएको न्यून आर्थिक वृद्धिको समस्या हल हुने उहाँको निष्कर्ष थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x