एनआरएनए सम्मेलन– अब कुरा भन्दा काम थालौँ, अध्यक्ष ढकाल

गैर आवासीय नेपालीहरूको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएछ । म पनि सुरुदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ । स्वदेशमा होस् या विदेशमा रहँदा, यस संस्थाका कार्यक्रम या मञ्चहरूमा मलाई पनि आमन्त्रित गर्ने गर्नुभएको छु र यहाँ आएर मैले पनि आफ्ना धारणाहरू राख्ने गरेको छु ।

आज मलाई पनि यो सम्मेलनमा आमन्त्रण गर्नुभयो र मुलुकको निजी क्षेत्रको नेतृत्वका रूपमा आज मलाई यहाँ मेरा धारणा राख्ने अवसर दिनुभयो । एनआरएनएको नेतृत्व र यो परिवार एवं संसारमा रहेका सबैलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ तथा मेरो व्यक्तिगत तर्फबाट पनि यस सम्मेलनको पूर्ण रूपमा सफलताको कामना गर्दछु ।

यस संस्थामा आबद्ध रहनुभएका सबै नेपालीहरूको मागप्रति नेपाल सरकार सकारात्मक बन्दै गएकोमा मलाई पनि खुसी लागेको छ । जस्तो कि सरकारले गरेको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने निर्णयको म स्वागत गर्न चाहन्छु र निजी क्षेत्रका तर्फबाट म यहाँहरूलाई धेरै बधाई पनि दिन चाहन्छु । एक पटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।

मलाई लाग्छ हामी नेपाली दाजुभाइ जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरू सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।

आदरणीय मित्रहरू म आज यहाँ कुनै सैद्धान्तिक भाषण गर्न गइरहेको छैन । किनभने हामीले विगतदेखि धेरै कुरा गरिसकेका छौँ र मलाई लाग्छ अब काम गर्ने बेला आएको छ । हामीले हामीले विगतदेखि गर्दै आएको भाषणको प्रतिफल मैले खासै पाएको छैन ।

अब भने हामीले यो दुई दशकको अवधिमा के गर्‍यौँ भनेर पनि सोच्नुपर्दछ । अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ । अब त्यसमा जाऊँ भन्ने आजका दिनमा म यहाँहरू सबैमा आग्रह गर्दछु ।

अहिलेको पुस्ता पनि कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरूलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरू यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन्, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नु छ, उनीहरूलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।

म आज यसै मञ्चमार्फत झन्डै दुई दशकको संस्थाको अभियानको अवसर पारेर के आग्रह गर्न चाहन्छु भने यहाँहरूले पनि यसै सम्मेलनमार्फत एउटा कमिट गर्नुहोस्, कुनै प्रोजेक्ट नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्को सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरूले पनि यसै अवसरमा गर्नुहोस् अनि दशैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।

म त ‘एक्सन ओरिएन्टेड’ मानिस हुँ । काम थालिहाल्नुपर्छ र गर्नुपर्छ भन्ने नै मेरो ध्येय रहन्छ । विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा हामी पनि जोडिन चाहन्छौँ, हामी पनि ‘जोइन्ट भेन्चर’ गर्न चाहन्छौँ ।

यहाँहरूसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठुलै स्केलको केही गरौँ । यहाँहरू विश्वको जुनसुकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस् र यहीँ काम गरौँ ।

देशमा लगानीको वातावरण नभएको होइन, छ । जस्तो कि यहाँहरूलाई पक्कै पनि सूचना छ नवलपुरमा मौला कालिका र बुटवलमा लुम्बिनी केबलकार प्रोजेक्ट हामीले वर्ष दिनभित्र सकेर अप्रेसनमै ल्यायौँ । लगानी गर्दा यहाँ काम गर्न सकिन्छ भन्ने यो र अरू पनि उदाहरणहरू हामीसँग छन् ।

होलान्, लगानीका लागि कतिपय बाधा व्यवधान पनि होलान् । तर ती पनि सबै हाम्रै माटोका उपज हुन् । त्यसका लागि सबै सँगै लडौँला, जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भनेर लागौँला । महासङ्घमा पनि हामीले वैदेशिक लगानी समन्वय शाखा स्थापना गरेका छौँ र अरू हिसाबले पनि हामी के सक्छौँ सहयोग गर्न सक्छौँ ।

आउनुहोस्, यहाँहरूले विदेशमा सिकेको सीप तथा आर्जन गरेको ज्ञान र पुँजीलाई हाम्रै मातृभूमिमा लगाऔँ । हाम्रै माटोमा फल्छ सुन । म त विश्वस्त छु कि संसारको सबैभन्दा उर्वर छ हाम्रो माटो । यहाँहरूको लगानी यहीँ लगाइदिनुहोस्, अनि खाडीमा पोख्ने पसिना नेपाली युवाले पनि हाम्रै माटोमा पोख्ने छन् । त्यसो भयो भने हामी नेपालीका लागि पनि समृद्धि धेरै टाढा हुने छैन ।

लगानीका सम्भावनाहरूका बारेमा भने मैले यहाँहरूलाई अहिले नै केही भन्नुपर्छ भन्ने मलाई लाग्दैन । हाम्रै माटो र बाटो, जल र जङ्गल, पाखा र पहरा हुन्, जससँग यहाँहरू आफै नै परिचित हुनुहुन्छ । त्यसैले देशको कर्णालीमा के रोप्ने र तराईमा के फल्छ भन्ने कुराको जानकारी मलाई जत्तिकै यहाँहरूलाई पनि छ । म यत्ति भन्छु, हामीसँग लगानीका असंख्या सम्भावनाहरू छन् ।

होइन भने अब यहाँहरू माथि पनि प्रश्न उठ्न सक्छ । दुई दुई वर्षमा नेपाल आउने सम्मेलन गर्ने दशैँ मनाउने अनि आफ्ना कर्म क्षेत्र तिर फर्किने मात्र काम भयो भन्ने अवस्था नहोस् । अब विचार गरौँ २० वर्ष भनेको त परिपक्व उमेर हो । काम गरेरै देखाउने उमेर हो ।

हेर्नुस्, आफू जन्मेको माटो सबैलाई प्यारो लाग्छ, सदैव शीतल लाग्छ । त्यसैले त यहाँहरू पनि यो सम्मेलन नेपालमै गर्ने गर्नुहुन्छ । कोरोना महामारीको समयमा हेरौँ न । संसारमा रहेका हामी नेपाली कसरी आफ्नो घर सम्झिएर फर्कियौँ ? हामी अहिले जहाँ भए पनि हामीले भन्ने गरेको मर्दा पर्दा चाहिने आफ्नै घर हो, आफ्नै जन्मभूमि हो । त्यसैले आफूले आर्जन गरेको पुँजीबाट पहिला आफ्नो घर बनाऔँ, आफ्नो जन्मस्थल बनाऔँ ।

(नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले एनआरएनएको ११ औँ सम्मेलनमा व्यक्त गर्नुभएको विचारमा आधारित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x