वाणिज्य बैङ्कहरूको अर्बौँ नाफा तर इक्विटीको तुलनामा निकै कम प्रतिफल​​​​​​​

बैङ्कहरूले अधिक नाफा कमाउँछन् भन्ने भाष्य जनमानसमा सृजना भएको पाइन्छ तर पूजी लगानी र जोखिमको मात्राको आधारमा बैङ्कहरूले इक्विटीमा दिएको प्रतिफल तुलनात्मक रूपमा कम नै रहेको देखिन्छ ।

वाणिज्य बैङ्कहरूले अर्बौँ नाफा कमाएको देखिए पनि वास्तविक प्रतिफल भने त्यति आकर्षक देखिएको छैन । देशमा सञ्चालनमा रहेका २० वाणिज्य बैङ्क मध्ये १४ वटाले ६ महिनाको अवधिमा १ अर्ब माथि नाफा आर्जन गर्न सफल भएका छन् । दोस्रो त्रैमाससम्म कुनै पनि बैङ्क नोक्सानीमा छैनन् । सबै भन्दा कम नाफा गर्ने वाणिज्य बैङ्कले पनि ५० करोड माथि नाफा गर्न सफल भएको छ  । तर, नाफालाई बैङ्कमा शेयर धनीले लगाएको पुँजी, बैङ्कको इक्विटीलाई दाँजेर हेर्दा बैङ्कको नाफा निकै कम देखिन्छ । आरओई (इक्विटीमा प्रतिफल अथवा रिटर्न अन इक्विटी) भनेको बैङ्कले आफ्नो इक्विटीको तुलनामा कति नाफा गर्न सफल भयो भनेर देखाउने औजार हो । सामान्यता इक्विटीमा शेयर पुँजी, शेयर प्रिमियम, सञ्चित मुनाफा र जगेडा कोष पर्दछन् ।

 

आर्थिक वर्ष २०८०⁄८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा वाणिज्य बैंकहरूको औसत वार्षिक आरओई ९ प्रतिशत रहेको छ । २० वाणिज्य बैङ्कमध्ये ९ वाणिज्य बैङ्कको आरओई  ९ प्रतिशत भन्दा माथि रहेको छ भने बाँकी ११ वाणिज्य बैङ्कको आरओई ९ प्रतिशत भन्दा कम नै रहेको छ । 
 

९ प्रतिशत प्रतिफल भनेको केही समय अघिसम्म जुन सुकै बैङ्कमा राखिने मुद्दती निक्षेपको ब्याज भन्दा पनि कम हो । कुनै समय सानो पुँजी हुँदा वाणिज्य बैङ्कको लगानी मार्फत लगानीकर्ताले मनग्य प्रतिफल प्राप्त गरेका थिए । कम्पनीले प्रत्येक वर्ष आकर्षक लाभांश घोषणा गर्ने गरेकोमा बैङ्कको पुँजी वृद्धिका कारण प्रतिफल दर घट्दो छ ।
 

वाणिज्य बैङ्कको घट्दो प्रतिफल दरकै कारणले गर्दा वाणिज्य बैङ्कका पुराना संस्थापक लगानीकर्ताहरूको शेयर विक्रीमा राखिएको थुप्रै सूचनाहरू प्रकाशित हुँदै आएका छन् भने विदेशी लगानीकर्ताहरू बाहिरिने हल्ला पनि सुनिँदै आएको छ ।
 

अधिक पुँजी वृद्धिका कारण प्रतिफल दर घट्दै गएकाले दोस्रो बजारमा पनि वाणिज्य बैङ्कको शेयर सस्तो मूल्यमै कारोबार भइरहेको छ ।  


२० वाणिज्य बैङ्कमध्ये नबिल बैङ्कले सर्वाधिक नाफा गरेको देखिए पनि बैङ्कको वार्षिक आरओई ११.५८ प्रतिशत मात्र छ । त्यस्तै दोस्रोमा २ अर्ब १८ करोड नाफा कमाएको प्राइम कमर्सियल बैङ्कको वार्षिक आरओई १४.८८ प्रतिशत रहेको छ ।
 

वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक आरओई १७.८१ प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको रहेको छ जसले आफ्नो स्रोतहरूको कुशलता पूर्वक उपयोग गरेको जनाउँदछ भने वाणिज्य बैङ्कहरू मध्ये कम आरओई ३.१८ प्रतिशत नेपाल बैङ्कको रहेको छ जसले साे संस्थाको वित्तीय रणनीतिमा सुधारको आवश्यकता भएको दर्साउँदछ

वाणिज्य बैङ्कहरूको विविध आरओई तथ्याङ्कले नेपालको बैङ्किङ क्षेत्रको प्रतिस्पर्धात्मक प्रकृतिलाई दर्साउँदछ। शेयरधनीहरू र विज्ञहरूले यस्ता सूचकहरूलाई नजिकबाट अनुगमन गर्नुपर्दछ किनकि यसले संस्थाहरूको वित्तीय स्वास्थ्यलाई प्रतिबिम्बित गर्नुका साथै संस्थाहरूको भविष्यमा हुन सक्ने वृद्धि सम्भावनाहरूमा बहुमूल्य अन्तर्दृष्टि पनि प्रदान गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x