नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नागरिकलाई एउटै कामका लागि अनावश्यक रूपमा विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल र नाडाले संयुक्त रूपमा आयोजना गरेको प्यानल डिस्कशनमा बोल्दै उहाँले हालको प्रशासनिक प्रक्रियाले सेवाग्राहीलाई सहज बनाउन नसकेर उल्टै समय र श्रमको अपव्यय गराइरहेको बताउनुभएकाे छ। रेग्मीका अनुसार प्रयोगकर्ताको दृष्टिकोणलाई प्राथमिकतामा राख्दै कामलाई छिटो र सरल बनाउनेतर्फ ध्यान दिन जरुरी छ।
‘सानो कारणले पनि काम ढिला हुँदा कसैलाई फाइदा हुँदैन,’ उहाँले भन्नुभएकाे छ, ‘एउटै सेवा पाउन चार–पाँच ठाउँ धाउनुपर्ने अवस्था रहनु राम्रो होइन। यदि एउटै स्थानबाट काम सम्पन्न गर्ने प्रणाली लागू गरियो भने नागरिकले बचाएको समय र ऊर्जा उत्पादक क्षेत्रमा प्रयोग गर्न सकिन्छ।’
उहाँले हालको प्रणालीले सहजता भन्दा बढी बाध्यता सिर्जना गरिरहेको उल्लेख गर्दै वन–स्टप सेवा प्रणाली विकास नै दिगो समाधान भएको प्रष्ट पार्नुभएकाे छ। साथै, मुलुकमा समस्या एकातिर भए पनि नीतिहरू अर्कोतिर जाने परिपाटीलाई पनि सुधार नगरेसम्म वास्तविक परिवर्तन सम्भव नभएको उहाँको भनाइ थियो।
कार्यक्रममा अन्य विज्ञहरूले पनि सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनुपर्ने, अनावश्यक कागजी प्रक्रिया घटाउनुपर्ने र निजी क्षेत्रसँग सहकार्य गर्दै सुधार अघि बढाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभएकाे छ।