निजी क्षेत्रका हरेक एजेन्डामा महासङ्घको सदैव साथ रहनेछ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  महासङ्घ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताउनुभएको छ ।

इटहरी उद्योग वाणिज्य सङ्घको २३औँ र २४औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासङ्घले निजी क्षेत्रको एजेन्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेन्डामा जिल्ला/नगर उद्योग व्यवसायी सङ्घहरूसँग महासङ्घ साथसाथै रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


“म केही समयपछि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुदैँ छु । म यहाँहरूसँग के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने तपाईँहरूले उठाउने हरेक एजेन्डामा महासङ्घको साथ र समर्थन रहने छ । म व्यक्तिगत रूपमा पनि तपाईँहरूसँगै हुनेछु । जिल्ला/नगरका व्यवसायी साथीहरूले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,” उहाँले भन्नुभयो ।

ग्लोबल आइएमई बैङ्कका अध्यक्ष समेत रहेका ढकालले कर्जाको ब्याजदर कुनै एउटा बैङ्क तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा नहुने बताउनुभयो ।

“कर्जाको ब्याजदर कुनै बैङ्क, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन । यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरूको प्रभाव रहन्छ । केही समय पहिलेको दुई/तीन प्रतिशतको निक्षेपको ब्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको ब्याजदर स्वतः बढेको हो,” उहाँले बताउनुभयो ।

उहाँले आफूलाई बैङ्कले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैङ्क ब्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताउनुभयो ।

“म कुनै एउटा बैङ्कको सञ्चालक समितिको अध्यक्ष हो । तर बैङ्कको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ । त्यसैले बैङ्कले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ । ब्याजदर घट्दा मलाई पनि राहत हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले केही व्यवसायीहरूले चुनावी एजेन्डा बनाउन खोज्दा बैङ्क र व्यवसायीबिचको दुरी बढेको समेत उल्लेख गर्नुभयो । 
उहाँले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधैँ सफल हुने बताउनुभयो ।

“मैले व्यवसाय गर्दा तीन वटा कुराहरूमा विशेष ध्यान दिने गरेको छु । पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र,” उहाँले भन्नुभयो ।

उहाँले आफूहरूले सात वटा प्रदेशमा सात वटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पार्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x