बीमकका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूसँग छलफल एवम् अन्तरक्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आज बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बीमा अभिकर्ताहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालाई बढी विश्वासिलो बनाउनका लागि बीमालेख जारी भएकै स्थानबाट दाबी फर्छ्यौटको व्यवस्था गर्नु आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “आर्थिक सहायताबाट समस्या समाधान नभई क्षणिक खुसी प्राप्त हुन्छ, बीमाबाट मात्र समग्र समस्याको समाधान हुन्छ, गरिबी निवारणमा सहयोग पुग्छ, दैनिक दुई कप चिया कम गरेर त्यसबाट बचत हुने रकमले बीमा गरेमा भविष्य सुनिश्चित हुन्छ, यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।”

सरकारबाट बीमा नियमावली स्वीकृत भएपछि नेपाल बीमा प्राधिकरण बीमा क्षेत्रको समग्र विकासका लागि अझै सशक्त रूपमा अगाडि बढ्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले पुनर्बीमा बापतको रकम प्राप्त नभए पनि त्यसलाई आम्दानी मानेर बीमा कम्पनीहरूले मुनाफा खान नपाउने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “प्राधिकरणबाट जारी निर्देशनहरू बीमा कम्पनीहरूले पालना गर्नुपर्छ, प्रदेश कार्यालयहरूलाई अधिकार सम्पन्न बनाउनुपर्छ, कम्पनीहरूले इनोभेसनमा लगानी गर्नुपर्छ, कम्पनीहरू कानुन बाहिर गएमा प्राधिकरणले हस्तक्षेप गर्छ ।”

जनकपुर उपमहानगरपालिकाका वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्णले बीमाको पहुँच न्यून रहेको मधेश प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणका अध्यक्षले लिनुभएको अग्रसरता सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा क्षेत्रको विद्यमान अवस्था, निरीक्षण प्रतिवेदन, जोखिमांकन, संस्थागत सुशासन, सूचना प्रविधि, प्रदेश कार्यालयको भूमिका लगायतका विषयमा प्रस्तुति गर्नुका साथै कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रदेश, शाखा तथा उपशाखा कार्यालयका गुनासाहरूको सुनुवाइ नभएको, अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक नपाएको, तालिम नदिएको, प्रदेश कार्यालयहरूमा कामको प्रकृति अनुसार शाखागत व्यवस्था नगरिएको, प्रमुख कार्यकारी अधिकृतको निकटका बाहेक अन्य कर्मचारीहरूको नौ दश वर्षसम्म पनि पदोन्नति नभएको, कर्मचारीले छोडेर जाँदा पाउनुपर्ने रकम समयमै नपाएको, केही जीवन बीमा कम्पनीले ल्याएको वार्षिक बीमा फिर्ता योजनाबाट चार पाँच वर्षमा सरेण्डरमा गएमा ऋणात्मक हुने अवस्था रहेको, वैदेशिक म्यादि जीवन बीमामा देखिएको समस्याको समाधानका लागि वेटिंग पिरियड १८० दिनबाट कम गरी ९० दिन कायम गर्नुपर्ने देखिएको लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा मधेश प्रदेशका धनुषा, सप्तरी, सिराहा, महोत्तरी र सर्लाही जिल्लास्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुख र कर्मचारी तथा बीमा अभिकर्ताहरू लगायत गरी दुई सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x