
वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ३९.८ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनामा मात्र विप्रेषण आप्रवाह रु. १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,४५,१५३ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २,२७,४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,७४,६२२ र १,९०,८८६ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर रु. १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो ट्रान्सफर रु. ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.८ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
