
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैङ्कले कर्मचारी सुरक्षण कोषअन्तर्गत रहेको उक्त रकम ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो।
राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, राष्ट्रिय स्तरका विकास बैङ्क तथा वित्त कम्पनीहरूलाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेस गर्न आह्वान गरेको छ। इच्छुक संस्थाले आगामी ३१ गतेभित्र ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।
केन्द्रीय बैङ्कका अनुसार कुल रकममध्ये ५२ करोड रुपैयाँ वाणिज्य बैङ्कहरूमा, ९ करोड ७५ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैङ्कहरूमा तथा ३ करोड २५ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा लगानी गरिनेछ।
यस योजनामा सहभागी हुन बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, न्यूनतम तोकिएको कुल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा अनुपात कुल कर्जा सापटीको ८ प्रतिशत भन्दा कम तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यसै गरी, बैङ्कले निर्धारण गरेको खुद तरल सम्पत्ति अनुपात तथा कर्जा–निक्षेप अनुपात कायम गरेको र पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद नाफामा रहेको हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ।
यदि कुनै संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त समेत राखिएको छ।
राष्ट्र बैङ्कले ६५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
