सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ– वरिष्ठ उपाध्यक्ष ढकाल

chandra dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य हो भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो “सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाइहरू देखिएका र सूचीकरण प्रक्रिया सुस्त गतिमा रहेको भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचिकृत प्रतिष्ठान र श्रमिकको सङ्ख्याबाट निराश हुनुपर्ने छैन । ”

नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउँछन् नै भन्दै त्यसबाट विचलित हुनु भन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई मनन गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफल पूर्वक अघि बढाउन कोष सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले आजसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचीकरण भई सकेको जानकारी पनि दिनुभयो । सूचिकृत श्रमिकहरूले सामाजिक सुरक्षा कोष वाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाइको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताउनुभयो ।

सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाइ आउने गरेको धेरै मुलुकको अनुभव रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सबै सरोकारवालाहरूले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि वढनु पर्दछ भन्ने हाम्रो धारणा हो ।”

विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक बनाउन ऐन कानुन र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उहाँले सरोकारवालाहरूलाई आग्रह गर्नुभयो 

अहिले प्रचलनमा रहेको संचयकोष र उपदानको व्यवस्थालाई बढी से बढी श्रमिकको हितमा हुने गरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक बनाउन पनि सोच्नुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो “यस प्रणालीका विषयमा श्रमिक र रोजगारदाताले अपेक्षा गरेकाले त्यसतर्फ सोच्न कोषलाई आग्रह गर्न चाहन्छु ।” उहाँले सामाजिक सुरक्षा प्रणालीलाई आकर्षक र भरपर्दो बनाउन सबैले आ–आफ्नो तहबाट योगदान गर्न पनि आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x