अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ...

ज्ञानमाण्डू।कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ । अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काई ओपिडी सेवासमेत सञ्चालन गरेको छ । 

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले कोभिड–१९ को परीक्षण एवं आइसोलेसन छुट्टै सञ्चालन गरिएको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिइन् । अस्पतालमा दैनिक ओपिडी, अल्ट्रासाउण्ड, प्रसूति सेवा सञ्चालन भइरहेको जानकारी दिँदै डा गौतमले लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डीसाइड, सिजनर (प्रसूति) का शल्यक्रिया भइरहेको जानकारी दिइन् । 

डा गौतमले भनिन्, “मान्छे बिरामी भएपछि नै अस्पताल आउने हो, निजी अस्पतालले हेर्दै हेरेन, फर्कायो भन्दै आइरहेका छन्, त्यसैले भक्तपुर अस्पताल आउने बिरामीलाई हामीले फर्काएका छैनौ , स्वास्थ्य परीक्षण, मनोपरामर्श, ओपिडी सेवादेखि आवश्यक पर्दा शल्यक्रियासमेत गरेका छौँ ।” 

अस्पतालले फिबर क्लिनिक सञ्चालन गर्दै आउने बिरामीलाई ढोकामै ज्वरो नापेर थप स्वास्थ्य परीक्षण एवं उपचार गर्ने गरिएको छ । अरू बेलामा निजी अस्पतालमा बिरामी पठाएर सिफारिस केन्द्र बन्यो भनेर आलोचना भइरहेको भक्तपुर अस्पताल सङ्कटको बेलामा भने आम नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । 

यहाँ बीमाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यस अवधिमा बीमाका बिरामीले अस्पतालको फार्मेसीबाट रु ९० हजारको औषधि लगेका छन् । सरकारले सो अस्पताललाई कोरोना हब अस्पताल घोषणा गरेपछि कोरोनाको परीक्षण एवं उपचारका लागि अस्पताल पनि सक्रिय बन्दै आएको छ । अस्पतालमा हाल चार शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेर कोरोना परीक्षणसमेत गरिरहेको छ । आवश्यक पर्दा थप १० शय्यालाई आइसोलेसन बनाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ । 

अहिलेसम्म विदेशबाट फर्किएका ८२ जनाको नमुना सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएकामा ६० जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाइ छ । अस्पतालको आइसोलेसनका दैनिक दुई शङ्कास्पद बिरामीको उपचार हुने गरे पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ । अस्पताल आफैँले पनि व्यक्तिगत सुरक्षा कवच (पिपीई) खरिद गरेको र अन्य निकायबाट केही पिपीइ सहयोग आए पनि अभाव भने भइरहेको डा गौतमले बताइन् । 

अस्पतालमा मास्क, ग्लोब्स, पिपीइलगायतका अत्यावश्यक सामग्री अभाव भएपछि अस्पताल आफैले कपडाको मास्क सिलाएको छ भने र पिपीइसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ । मेसु डा गौतमले विभिन्न निकायबाट आएको पिपीइ सकिएर समस्या आएपछि पिपीइमा प्रयोग हुने गुणस्तरीय कपडा ल्याएर टेलरलाई सिलाउन तयारी अवस्थामा राखिएको जानकारी दिइन् । सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले मङ्गलवार सो अस्पताललाई नौ थान पिपीइ सहयोग हस्तान्तरण गरेका थिए । 

कोरोना परीक्षणमा रहेका चिकित्सकदेखि स्वास्थ्यकर्मीलाई अस्पतालले यही खाने तथा बस्ने व्यवस्था गरेको छ भने ज्वरो आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा कोभिड बुथसमेत राखेर सुरक्षितरूपमा बुथबाट नमुना सङ्कलन गर्न सुरु गरेको छ । अस्पतालमा आइसीयू सञ्चालनका लागि सरकारले रु एक करोड पठाएको जानकारी दिँदै डा गौतमले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालसहितको टोली आइसीयू सञ्चालन र सेवा वृद्धिका लागि खटिरहेको जानकारी दिइन्। 

अस्पतालले कोभिड–१९ का बिरामीका लागि दुई भेन्टिलेटर आवश्यक पर्दा तत्काल सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको छ भने थप दुई भेन्टिलेटर शल्यक्रिया कक्षमा सञ्चालनमा राखेको छ । अस्पतालले पाँच शय्याको आइसीयू सञ्चालनका लागि सरकारले निर्धारण गरेको मूल्यमा सामान खरिदको तयारी गरिरहेको छ । डा सुमित्रा गौतमले आइसीयूका लागि आवश्यक कम्तीमा छ चिकित्सक, एक एनेस्थेसिया र कम्तीमा १६ नर्सको व्यवस्था भने करारमै भए पनि गर्नुपर्ने बताइन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x