सुधारोन्मुख देखिएको अर्थतन्त्रलाई आधार मानेर तद्अनुरूपका नीतिगत व्यवस्था गरौँ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तद्अनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश छैठौँ प्रदेश सभाको समुद्घाटन समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अहिले अर्थतन्त्रका केही सूचकाङ्कहरू सकारात्मक देखिएका छन् । रेमिट्यान्स बढेको छ । विदेशी पर्यटकको सङ्ख्या बढेको छ । बैङ्कमा तरलता पनि बढेको छ । त्यसैले, यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ ।

उहाँले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरूको लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । 

“कोरोना भाइरसपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरूका कारणहरूले वा रशिया युक्रेन युद्धको कारणले होस्, हाम्रो अर्थतन्त्र प्रभावित हुन गएको छ । व्याज बढायो भने तरलता समस्या समाधान हुन्छ भन्ने र आयात रोक्यो भने अहिलेको सङ्कट पार लगाउन सकिन्छ भन्ने नीतिहरूका कारण अहिलेको समस्या आएको हो । ती सबै नीतिहरू निष्प्रभावित रहे । अब अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू देखिएका छन् । यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ । छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो । 

उहाँले अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।  “अर्थतन्त्रमा समस्या छ । अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र बैंकिङ्ग क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने अवस्था छ । सबै मिलेर यो अवस्थालाई पार लगाउनुपर्नेछ,” उहाँले भन्नुभयो ।

उहाँले अहिलेसम्म निर्वाचन सकिएका सबै प्रदेशहरूमा सर्वसम्मत नेतृत्व चयन भएको उदाहरण दिँदै यस गण्डकी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x