
चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक राजस्व लक्ष्यको अपेक्षाकृत न्यून हिस्सा मात्र उठाउन सकेको छ। प्रदेशले कात्तिक मसान्तसम्म १७.१८ प्रतिशत बराबर रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।
घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारीसाधन कर वाग्मती प्रदेशका सबैभन्दा प्रमुख राजस्व स्रोतका रूपमा रहेका छन्। यी शीर्षकसहित बाँडफाँट मिलाएर प्रदेशले चालु आ.व. मा कुल रु ३० अर्ब ८९ करोड भन्दा धेरै सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर साउनदेखि कात्तिकसम्म जम्मा २२.४५ प्रतिशत अर्थात् रु ६ अर्ब ९३ करोड ६४ लाख मात्र उठेको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।
घरजग्गा रजिस्ट्रेसन शुल्कको वार्षिक लक्ष्य रु ७ अर्ब ७० करोड मध्ये चार महिनामा १६.७ प्रतिशत मात्र सङ्कलन भएको छ, जसको रकम रु १ अर्ब २३ करोड ७० लाख ३५ हजार पुगेको छ। त्यस्तै, सवारी करको लागि तोकिएको रु ८ अर्ब २५ करोडको लक्ष्यमध्ये २८.२ प्रतिशत अर्थात् रु २ अर्ब ३१ करोड १८ लाख सङ्कलन भएको छ।
प्रदेशले बाँडफाँट मार्फत प्राप्त हुने मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा रु ८ अर्ब ७९ करोडभन्दा बढी आम्दानी हुने अपेक्षा गरेकामा कात्तिकसम्म रु २ अर्ब ४९ करोड ५५ लाख मात्रै प्राप्त भएको छ। अन्तःशुल्क शीर्षकमा पनि लक्ष्यअनुसार राजस्व वृद्धि नभएर चार महिनामा रु ८४ करोड ३६ लाख सङ्कलनमा सीमित रहेको मन्त्रालयले जनाएको छ।
सङ्घीय समानी करण अनुदान पनि सुस्त गतिमा आएको छ। तोकिएको रु १४ अर्ब ८१ करोड अनुदानमध्ये अहिलेसम्म २३.३७ प्रतिशत अर्थात् रु ३ अर्ब ४६ करोड मात्र प्रदेशले पाएको छ। त्यस्तै प्रदेशको आन्तरिक स्रोतबाट सङ्कलन हुने राजस्व लक्ष्य रु ४ अर्ब ७७ करोडमध्ये २३.७० प्रतिशत मात्र (रु १ अर्ब १३ करोड २२ लाख) प्राप्त भएको छ।
