वीरगन्ज नाकाबाट ईभी आयात बढ्दो, १० महिनामा ४ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार


चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वीरगन्ज नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) आयातमा उल्लेखनीय वृद्धि भएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

यो आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३.६० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज नाका हुँदै १ अर्ब ६५ करोड रुपैयाँ मूल्यका ९ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको समीक्षा अवधिमा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन्। ईभी आयातको वृद्धिसँगै यस क्षेत्रबाट प्राप्त हुने राजस्वमा पनि उल्लेख्य सुधार देखिएको छ।

तथ्यांक अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। ती सवारीसाधनको कुल मूल्य १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने त्यसबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। अघिल्लो वर्ष यही अवधिमा सोही श्रेणीका केवल ६ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

यस्तै, चालु आवको १० महिनामा १ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। ती सवारीसाधनबाट ३८ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत वर्षको सोही अवधिमा ४ हजार ८३४ वटा विद्युतीय दुई पाङ्ग्रे सवारी आयात भएका थिए।

भन्सार कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा इन्धन र विद्युत् दुवैबाट सञ्चालन हुने सवारीसाधन तथा तिनका पार्टपुर्जा गरी कुल ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४४.५८ प्रतिशतले बढी हो।

परम्परागत इन्धनबाट चल्ने सवारीसाधनतर्फ भने १ अर्ब २५ करोड रुपैयाँ मूल्यका ६२८ वटा जीप, कार र भ्यान आयात भएका छन्। यसबाट ३ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै, ७ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ५१ हजार ४२३ वटा मोटरसाइकल आयात हुँदा ७ अर्ब ९ करोड रुपैयाँ राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x