सरकारी निकायहरूबिच समन्वय गरी स्थल मार्गबाट नेपाल आउने विदेशी पर्यटकलाई एक द्वार सेवा प्रदान गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकाहरुमा दुख पाएको गुनासो आएकोले अन्तर मन्त्रालय समन्वय गरी तत्काल समस्याको समाधान निकाल्न आग्रह गर्नुभयो ।

बिहीबार काठमाडौँमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, “हाम्रा विभिन्न सरकारी निकायहरू बिच समन्वय नहुँदा भारतीय सिमानाकाबाट स्थल मार्गबाट आउने पर्यटकहरूले विभिन्न किसिमका झमेलाहरू झेल्न परिरहेको गुनासो आउने गरेको छ । अर्थ, गृह र पर्यटन मन्त्रालयहरूबिच समन्वयको अभावमा समस्या परेको देखिन्छ । यो ठुलो समस्या होइन । यसलाई एक दुई दिन वा हप्ता दिन भित्रै समाधान गर्न सकिन्छ । म माननीय मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ ।”

उहाँले हरेक प्रदेशमा ठुला र नमुना पर्यटकीय गन्तव्यहरू निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण प्रस्तुत गर्दै यस्तै किसिमका पूर्वाधारहरू सात वटै प्रदेशमा निर्माण गर्न मात्र सके पनि अहिलेको पर्यटक बसाईलाई दोब्बर गर्न सकिने बताउनुभयो ।

“हामीले जहिले पनि समस्या मात्र राख्ने तर समाधानको उपायमा छलफल नै नगर्ने भन्ने कुरा यहाँ उठेको छ । म समस्यासँगै समाधानको उपाय पनि राख्न चाहन्छु । हामीले काठमाडौँको चन्द्रागिरिमा निर्माण गरेको रिसोर्ट र केबलकारसहितको स्थान अहिले स्वदेशी र विदेशी दुवै पर्यटकको रोजाइको नयाँ गन्तव्य बनेको छ । हामीले यस्ता गन्तव्यहरू हरेक प्रदेशमा कम्तीमा एउटा मात्र पनि बनाउन सकेमा पर्यटकको बसाइ लम्बाउन र खर्च बढाउन सकिन्छ,” उहाँले भन्नुभयो ।

आफूले पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियन्ताको रूपमा लागेको उहाँले बताउनुभयो ।

उहाँले नेपाल–भारत सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तव्यहरू भारतीय पर्यटकको रोजाइका नयाँ गन्तव्य बन्दै गएको बताउँदै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

“सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तव्यहरू भारतीय पर्यटकको रोजाइ बन्दै छन् । नेपालका हिल स्टेसनमा आएर विवाह, पिकनिक, पार्टी लगायत अन्य सामाजिक तथा मनोरञ्जनात्मक गतिविधिहरू गर्न चाहने भारतीय र अन्य छिमेकी देशका पर्यटकहरूलाई यहाँ आकर्षित गर्न सकिन्छ । सरकारले न्यूनतम पूर्वाधारहरू जस्तै, बाटो, बिजुली, पानी र सुरक्षा मात्र पनि व्यवस्था गरिदिने हो भने निजी क्षेत्रले यसको पहल गरिरहेको छ । यसबाट अहिले विदेशी मुद्राको सञ्चितिमा देखिएको समस्या समाधानका साथै रोजगारी र राजश्वमा समेत ठुलो योगदान पुग्न सक्छ ।”

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उहाँले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गर्नुभयो ।

“हामीकहाँ दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । विभिन्न देश र सहरलाई हवाई यातायातमार्फत प्रत्यक्ष जोड्न सकेमा थप विदेशी पर्यटक पनि भित्र्याउन सकिन्छ । यसतर्फ सरकारले ध्यान दिन जरुरी छ,” उहाँले भन्नुभयो ।

उहाँले विश्वका धेरै देशहरूमा पर्यटकलाई धेरै भन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेको बताउँदै नेपालमा भने पर्यटकले नगद रुपैयाँ ल्याउँदा अधिकतम सीमा निर्धारण गर्दा खर्च बढ्न नसकेको बताउनुभयो ।

“विश्वका धेरै देशहरूमा पर्यटकलाई धेरै भन्दा धेरै खर्च गराउन प्रोत्साहन गर्ने नीति रहेका छन् । हाम्रै छिमेकी देश भुटानले पनि न्यूनतम यति खर्च गर्नै पर्ने भनेर प्रावधान नै बनाएको छ । तर हामी कहाँ २५ हजारभन्दा धेरै भारतीय मुद्रा ल्याउँदा उल्टै दुख दिने गरिन्छ । यस्ता समस्याको तत्काल समाधान ननिकाल्ने हो भने खर्च बढ्दैन । पर्यटकले पनि दुख पाउँछन्,” उहाँले भन्नुभयो, “त्यसैले नगदको सीमा बढाउने वा सहज वातावरण बनाउने तर्फ पहल गर्न सरकारसँग मेरो आग्रह छ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x