महासङ्घ अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासङ्घको सचिवालय, टेकु, काठमाडौँमा बुधवार भेटवार्ता सम्पन्न भएको छ ।

भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुन स्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गर्नुभएको छ ।

इन्डोनेसियाले कोभिड महामारीदेखि नेपालीहरूलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणको लागि राजदूतलाई आग्रह समेत गर्नुभएको छ ।

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाउनुभएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ ।

उहाँले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुनर्स्थापनाका लागि आफूले पहल गर्ने समेत बताउनुभयो ।

उहाँले नेपाली व्यवसायीले इन्डोनेसियामा धेरै वस्तुहरू निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताउनुभयो ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सुमधुर कूटनैतिक सम्बन्ध रहेको छ ।

दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरू इन्डोनेसियामा निर्यात गर्छ भने इन्डोनेसियाबाट पाल्म आइल, मसिनरी र इलेकट्रोनिक्स सामग्रीहरू आयात गर्ने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x