नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। आज साँझ ५ बजेबाट सुरु हुने यस खेलमा चालू सिजन पहिलो पटक मैदान प्रवेश गर्न लागेको पोखरा विजयी ढङ्गले प्रतियोगिताको थालनी गर्दै प्लेअफ समीकरण बलियो बनाउने दाउमा छ। यता, पहिलो खेलमा पराजयको सामना गरिसकेको सुदूरपश्चिम भने उक्त नतिजालाई पछाडि छाड्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
सुदूरपश्चिम रोयल्स दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा मैदानमा उत्रनेछ। यसअघि खेलिएको आफ्नो सुरुवाती म्याचमा यो टोली लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। सो भिडन्तमा सुदूरपश्चिमको ब्याटिङ पङ्क्ति पूर्ण रूपमा चल्न नसक्दा टोली जम्मा ८७ रनको न्यून योगफलमा समेटिन पुगेको थियो। यद्यपि, मुख्य प्रशिक्षक मिसबाह उल हकले पहिलो खेलमा देखिएका कमीकमजोरीहरूलाई सच्याउँदै ब्याटिङ लाइनअपलाई थप परिष्कृत र दरिलो बनाइएको प्रतिक्रिया दिएका छन्। यसअघिका दुवै संस्करणमा पोखराविरुद्ध जित निकालेको बिगतको मनोवैज्ञानिक अग्रता र उच्च मनोबललाई सुदूरपश्चिम आज पनि कायम राख्न चाहन्छ।
अर्कोतर्फ, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स यसपटकको प्रतियोगितामा उच्च प्रदर्शनसहित सशक्त सुरुआत गर्ने योजनामा छ। अगािल्ला दुई संस्करणमा सन्तोषजनक प्रदर्शन गर्न असफल भएको पोखराले यसपटक टोलीमा केही नामी विदेशी तथा अनुभवी खेलाडीहरूलाई भित्र्याएको छ। टोलीमा बंगलादेशका ख्यातिप्राप्त अलराउन्डर शाकिब अल हसनको मौजुदगी र अन्य विदेशी खेलाडीहरूको आक्रामक खेलशैलीले पोखरालाई यसपटक निकै प्रतिस्पर्धात्मक र बलियो बनाएको छ।
यद्यपि पछिल्ला भेटहरूमा हेड-टु-हेड नतिजा सुदूरपश्चिमको पक्षमा भारी देखिए पनि पोखरा यसपटक बिल्कुलै नयाँ रणनीति र ऊर्जाका साथ नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ। अंक तालिकाका हिसाबले पनि दुवै टिमका लागि आजको यो खेल अत्यन्तै निर्णायक र महत्त्वपूर्ण साबित हुनेछ।
