हिम पर्वत हाइड्रोपावरको आईपीओ निष्कासन खुला: स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज (कात्तिक ११ गते) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने कुल ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएको थियो। जसमध्ये १६ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ। यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ भने बाँकी ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाहरूका लागि निष्कासन गरिएको छ। त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते निष्कासन बन्द हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकका सिंगटी शाखा कार्यालयहरू, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीले सञ्चालन गरेको २० मेगावाट क्षमताको साङ्गु खोला जलविद्युत आयोजनाले २०८२ असोज २५ गतेदेखि र ५.५ मेगावाट क्षमताको साङ्गु खोला १ जलविद्युत आयोजनाले २०८२ साउन ८ गतेदेखि विद्युत् उत्पादन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x