सवारीसाधन र पार्टपुर्जा आयातमा उछाल, १० महिनामा ३१ अर्बको कारोबार


चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन र पार्टपुर्जा नेपाल भित्रिएका छन्।

यो आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँले बढी हो। बढ्दो आयातसँगै सरकारको राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार समीक्षा अवधिमा सवारीसाधन तथा पार्टपुर्जा आयातबाट २० अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको यही अवधिमा यस्तो राजस्व १६ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।

तथ्याङ्क अनुसार चालु आ.व. को १० महिनामा १ अर्ब २५ करोड रुपैयाँ बराबरका विभिन्न सवारीसाधन आयात भएका छन्। यी सवारी साधनबाट मात्रै ३ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यस्तै, ७ अर्ब ३२ करोड रुपैयाँ मूल्य बराबरका ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयात गरिएको छ। उक्त आयातबाट ठुलो परिमाणमा राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

सवारीसाधनको बढ्दो माग, बजारमा देखिएको आर्थिक गतिविधिको विस्तार तथा आयात सहजताका कारण चालु वर्षमा सवारीसाधन र पार्टपुर्जा आयातमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x