ट्राफिक नियम उल्लङ्घनमा कडाइ : २४ घण्टामा ८.८९ लाख राजस्व सङ्कलन


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ९६२ जना चालकलाई कारबाही गरेको जनाएको छ। कारबाहीबाट ८ लाख ८९ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको प्रहरीको भनाइ छ।

कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै ९०५ जना सामान्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालक रहेका छन्। यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, राइड सेयरिङ सम्बन्धी नियम उल्लङ्घन गर्ने १४७ जना तथा रातो बत्ती उल्लङ्घन गर्ने २११ जनामाथि कारबाही गरिएको छ।

त्यसै गरी तीव्र गतिमा सवारी चलाउने १९७ जना, लेन मिच्ने ५३ जना, फुटपाथ अतिक्रमण गर्ने ८८ जना, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने ११६ जना तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना चालक पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार उपत्यकामा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ तथा नियम पालना नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। सोही अवस्थालाई नियन्त्रणमा लिन नियमित अनुगमनसँगै विशेष ट्राफिक चेकिङ अभियान सञ्चालन गरिएको जनाएको छ।

नरेशराज सुवेदीले ट्राफिक कारबाहीको मुख्य उद्देश्य राजस्व सङ्कलनभन्दा पनि सडक सुरक्षा सुदृढ गर्नु रहेको बताउनुभएको छ। उहाँको अनुसार मापसे, तीव्र गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक सङ्केत उल्लङ्घन गर्ने गतिविधि दुर्घटनाका प्रमुख कारण बनेकाले निगरानीलाई थप प्रभावकारी बनाइएको हो।

ट्राफिक प्रहरीले चालकलाई हेलमेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्न तथा ट्राफिक सङ्केतको पूर्ण पालना गर्न आग्रह गर्दै आगामी दिनमा पनि विशेष ट्राफिक चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x