नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल मिसन टोलीबिच शुक्रवार महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पुँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनर्संरचना, पुर्न तालिकीकरण पुर्न कर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैङ्कसँग आग्रह गरिरहेको बताउनुहुँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
बजारमा उद्यमी व्यवसायीहरू र उपभोक्ता दुवैको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्त्वपूर्ण विषय रहेकोमा अध्यक्ष ढकालले जोड दिनुभयो ।
सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन टिन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्न आवश्यक भएकोले आफू महासङ्घ आएको बताउनुभएको थियो ।
उहाँले बजारमा माग घट्नुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राख्नुभएको थियो ।
महासङ्घ अध्यक्ष ढकालले श्रीलङ्काको अर्थतन्त्रजस्तो हुने आशङ्कामा बजारमा माग सङ्कुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।
महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
मिसन टोली प्रमुख टिन्डाले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनु भयो ।
साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताउनुभयो ।
 
महासङ्घ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबिच भेटवार्ता, बजारमा विश्वास बढाउन सबैले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            