भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासङ्घका अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरूलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले द्रूतरुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताउनुभएको छ ।

उहाँले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको बताउनुभयो ।

उहाँले नेपालमा होटेल, केबलकार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठुलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गर्नुभयो ।

“नेपालको पर्यटन क्षेत्रले ठुलो फड्को मारेको छ । म भारतीय लगानीकर्ताहरूलाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सँगसँगै पर्यटकको आगमन बढेको छ । यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिन सक्ने वातावरण बनाइदिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले नेपालमा परम्परागत क्षेत्रभन्दा बाहिर रहेका नयाँ र उदीयमान क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रमा लगानीका लागि सहकार्य गर्नका लागि समेत आग्रह गर्नुभयो ।

नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गर्नुभयो ।

नेपालमा भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पुर्‍याउने नभई दुई देशबिचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल सरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्ताहरूलाई सक्रिय सहभागिताका लागि आमन्त्रण समेत गर्नुभयो ।

हालै भारतीय विदेश मन्त्री जय शंकरको भ्रमणको अवसरमा नेपाल र भारतबिच १० हजार मेगावाटसम्म नेपालको विद्युत् भारतीय बजारमा लिने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई ठुलो अवसर सृजना गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले क्षेत्रीयरुपमा व्यावसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवर्द्धन गर्न आफूले बिम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेको बताउँदै त्यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न इन्डियन च्यामबर अफ कमर्शलाई आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x