रारामा अस्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ ।

रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस् प्रा.लि. का तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नुभएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्रा. लि. का शाहले बताउनुभयो ।

समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

“यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ” उहाँले भन्नुभयो ।

उहाँले आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुने बताउनुभयो।

एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । सो सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x