काँकडभिट्टा नाकाबाट अलैँची र छुर्पी निर्यातमा उल्लेख्य उछाल

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा अलैँची, छुर्पी लगायत विभिन्न वस्तुको निर्यात उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयका अनुसार साउन देखि पुष मसान्तसम्म मात्रै ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँभन्दा बढी मूल्यको अलैँची विदेश पठाइएको छ।

यस अवधिमा ३४ लाख ६१ हजार ३५० किलो भन्दा बढी अलैँची निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो। गत वर्ष यही समयमा करिब ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

यस्तै, तेस्रो मुलुकमा कुकुर तथा बिरालोको आहारका रूपमा प्रयोग हुँदै आएको छुर्पीको निर्यात पनि उल्लेख्य रूपमा बढेको छ। चालु आ. व. को अर्धवार्षिक अवधिमा करिब ७६ करोड ५ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार ४०५ किलो भन्दा बढी छुर्पी निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतभन्दा बढी वृद्धि हो।

भन्सार कार्यालयका अनुसार भेनियर सिट र मुसुरो दालको निर्यात पनि उत्साहजनक देखिएको छ। छ महिनामा करिब ५३ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको भेनियर सिट र ९ करोड रुपैयाँभन्दा बढी मूल्यको मुसुरो दाल निर्यात भएको छ। गत वर्षको तुलनामा मुसुरो दालको निर्यात ४८१ प्रतिशतले र भेनियर सिटको निर्यात १०९ प्रतिशतले बढेको छ।

यद्यपि, चिया र प्लाइउडको निर्यात भने घट्दो क्रममा रहेको छ। चालु आ. व. को पहिलो छ महिनामा चियाको निर्यात २६.४ प्रतिशतले बढी र प्लाइउडको निर्यात ४४ प्रतिशतले घटेको भन्सारले जनाएको छ।

यसका साथै अम्लिसो, अदुवा र सुठो, काउली, बन्दाकोबी, ब्रोकाउली तथा जडीबुटीको निर्यात पनि उल्लेख्य रहेको मेची भन्सार कार्यालयले जानकारी दिएको छ। निर्यात वृद्धिले पूर्वी क्षेत्रको व्यापारिक गतिविधि चलायमान बन्दै गएको सङ्केत गरेको सरोकारवालाहरूको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x