बजेटमा लुम्बिनी: बुटवलमा "आइटी पार्क" देखि "बर्थिङ हब" सम्म

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा लुम्बिनी प्रदेशका लागि केही पुराना योजनाको निरन्तरता र नयाँ योजना घोषणा भएको छ ।

लुम्बिनी प्रदेशका निजी क्षेत्रले प्रस्तुत बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । बजेटको प्रभावकारिता कार्यान्वयनको प्रक्रियामा निर्भर रहने निजी क्षेत्रको भनाइ रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ का लागि प्रस्तुत गर्नुभएको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा ‘बर्थिङ हब’ को रूपमा विकास गरिने उल्लेख गरिएको छ । अर्थमन्त्री पुनले बजेटमै समेटेर अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मालम्बिहरुले आस्थाको केन्द्र मान्ने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लुम्बिनीमा बुद्ध धर्मालम्बि भित्र्याएर ‘बर्थिङ हब’ को विकास गरिने घोषणा गरिएको छ । त्यसै गरी रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्र चलाउने कार्यक्रम बजेटमा समेटिएको छ । यसअघि पनि यी दुवै स्थानमा औद्योगिक क्षेत्र सञ्चालन गर्न शिलान्यास गरिएको थियो ।

त्यसै गरी यस क्षेत्रको मुख्य राजमार्गको रूपमा रहेको बुटवल–गोरुसिङ्गे र भालुवाङ लमही राजमार्ग स्तरोन्नतिका लागि बजेटले समेटेको छ । बाँकेको राझा र दाङको टरिगाउँ विमानस्थल स्तरोन्नति बजेट राखिएको छ । लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगन्जमा मात्रै नियमित उडान भइरहेको छ ।

रुपन्देही, कपिलवस्तु र नवलपरासीका क्षेत्रलाई समेटेर बुद्ध परिपथ विस्तार गरिने योजना बजेटमा समेटिएको छ । त्यसै गरी सिक्टा सिँचाइ आयोजना विस्तारका लागि रु एक अर्ब ६० करोड, बबई सिँचाइ आयोजना विस्तार, भेरी बबई डाइभर्सनलाई पनि बजेट समावेश गरिएको छ । बुटवलमा मेडिकल कलेज सञ्चालन गर्ने प्रक्रिया बढाउने विषय उल्लेख छ ।

आज प्रस्तुत बजेटमा बुटवलमा आईटी पार्क निर्माण गरिने घोषणा गरिएको छ । बजेटमा आइटी पार्कका लागि काठमाडौँसँगै बुटवलका सरकारी तथा निजी भवन उपयोग गरी पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने घोषणा गरिएको छ । बजेटमा सरकारी तथा निजी भवन उपयोग गरी आईटी पार्कमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायतका पूर्वाधारहरूको विकास गरी सूचना प्रविधि पार्कको काम अगाडि बढाइने उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यमको ‘हब’ बनाउने भनिएको छ । अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक ‘हब’का रूपमा विकास गर्ने घोषणा अनुरूप लुम्बिनीलाई साना तथा मझौला उद्यमको ‘हब’ बनाउने घोषणा गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा कृष्ण सेन इच्छुक सञ्चार ग्राम बनाउने घोषणा भएको छ । सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्ने, भैरहवा एकीकृत जाँच चौकीमा सुरक्षा बन्दरगाह निर्माण सुरु गरिने, सिद्ध बाबा सुरुङ मार्ग निरन्तरता, बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन सुरु गरिने योजना बजेटमा उल्लेख गरिएका छन् ।

नारायणी र तिनाउमा सिग्नेचर पुल निर्माण दुई अर्ब ४६ करोड रकम विनियोजन भएको छ । नारायणीमा पुलको शिलान्यास भए पनि तिनाउमा सुरु भएको छैन । एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने घोषणा गरिएको छ ।

यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने, गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने, बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने, त्रिभुजका तीन वटै कोरिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने बजेट वक्तव्यमा समेटिएको छ ।

बजेटका विषयमा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले बजेट सन्तोषजनक रहे पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले समग्रमा बजेट दबाबमा आएको भए पनि निजी क्षेत्रलाई चिढ्याउने खालको नरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक कृष्ण शर्माले बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले अहिलेको बजेट पनि परम्परागत रहेकाले निजी क्षेत्रलाई उत्साहित बनाउने गरी नआएको बताउनुभयो । उहाँले बजेटको पूर्ण पाठ आएपछि समग्रमा समीक्षा गर्न सकिने बताउँदै लुम्बिनीको पर्यटन विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बजेटले स्पष्ट योजना नल्याएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x