धितोपत्र बोर्डमा विभिन्न क्षेत्रका ७६ कम्पनीहरूकाे ५४ अर्ब ६७ करोड रुपैयाँ बराबरकाे ३७ कराेड ९७ लाख कित्ता भन्दा बढी शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) आईपीओ पाइपलाइनमा रहेकाे छ।
बोर्डको नियमन विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार जलविद्युत् कम्पनी, विकास बैंक, बीमा कम्पनी, होटल तथा पर्यटन क्षेत्र, निर्माण तथा प्रशोधन उद्योग, माइक्रो इन्स्योरेन्स, लगानी कम्पनी र अन्य विभिन्न क्षेत्रका संस्थाले आईपीओका लागि प्रक्रिया अघि बढाइसकेका छन्।
जलविद्युत् क्षेत्र मात्र हेर्दा करिब १७ करोड ८५ लाख कित्ता बराबर १८ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको आईपीओ प्रस्ताव बोर्डमा दर्ता भएका छन्। यसमा यमबलिङ, सोलु, ताक्सार पिखुवा, रिज लाइन, कालिञ्चोक, हिम रिभर लगायतका जलविद्युत् कम्पनी समावेश छन्।
त्यस्तै, होटल तथा पर्यटन क्षेत्रमा होटेल फरेस्ट इन, अकामा होटेल, भर्नावास म्युजियम होटेल, माउन्टेन ग्लोरी लगायतका कम्पनीले आईपीओ ल्याउने तयारी गरेका छन्। निर्माण तथा प्रशोधन उद्योगमा जगदम्बा स्टील्स, शौर्य सिमेन्ट, मारुती सिमेन्ट, पाल्पा सिमेन्ट, भुर्गव सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टील्स, महाशक्ति सिमेन्ट र शुभश्री अग्नि सिमेन्टलगायतका कम्पनीहरू आईपीओ पाइपलाइनमा रहेका छन्।
यसैगरी, माइक्राे बीमा क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले पनि आईपीओ ल्याउने तयारी गरेका छन्। लगानी कम्पनीतर्फ बरुण इनभेष्टमेन्ट, सिड इनर्जी, शिवम् होल्डिङ्स र शिवशंकर हाइड्रो इनभेष्टमेन्टले आईपीओ प्रक्रिया अघि बढाएका छन्।
अन्य क्षेत्रमा डिश मिडिया नेटवर्क, आईएमई लिमिटेड, ह्याम्स अस्पताल, नेपाल ब्राेडकास्टिङ्ग च्यानल, कैलाश हेलिकप्टर, चायादेवी कम्प्लेक्स, मेडिकेयर अस्पताल, जी.आई. सोलार, सोलार फार्म लगायतका कम्पनी पनि सूचीमा छन्।
धितोपत्र बोर्डका अनुसार यी सबै प्रस्तावित आईपीओहरूको प्रक्रिया क्रमशः अगाडि बढिरहेको छ। केही कम्पनीले आवश्यक अद्यावधिक विवरण तथा अनुपालन प्रतिवेदन पेश गरिसकेका छन् भने कतिपयले अझै थप कागजात बुझाउनुपर्ने अवस्था छ।