शिखर पावर डेभलपमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन


शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ)का लागि आवेदन दिने माघ २० गते (आज ) अन्तिम दिन रहेको छ ।

कम्पनीका अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार तोकेको छ । कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरका कुल ३२ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

सो कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको हो । त्यसै गरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २ लाख २२ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको आवेदन अवधि माघ ९ गते समाप्त भइसकेको छ।

आयोजना प्रभावित क्षेत्र अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकाका तोकिएका वडाहरूका स्थायी बासिन्दाहरूलाई यस समूहमा समावेश गरिएको थियो।

सो आइपिओ माघ ६ गतेदेखि निष्कासनमा आएको थियो। माघ २० गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा फागुन ८, २०८२ भित्रमा आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x