कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबिच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (Joint Business Council,JBC) (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौँ आइपुगेको छ ।
संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । यस सम्झौताले नेपाल र कतार बिचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौँ आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्लीले गर्नु भएको छ । माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौँमा परिषद्को बैठक बस्नेछ । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्र बिच संवाद, व्यावसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।काठमाडौँ बसाईका क्रममा प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाटहरू गर्नेछ । प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त व्यवसाय परिषद्ले अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीहरूबिच साझेदारी सुदृढ गर्न महत्त्वपूर्ण हुने महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भयो । अध्यक्ष ढकालका अनुसार छलफलहरू परिषद्लाई व्यवहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन् ।
नेपाल र कतारबिच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध र सशक्त जन स्तरीय सम्पर्क रहेको छ, जुन अहिले थप गहिरो आर्थिक सहकार्यतर्फ अघि बढिरहेको छ । पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको छ, र महासङ्घले यस भ्रमणलाई त्यस दिशामा समयोचित कदमका रूपमा लिएको छ ।
नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा आकर्षक लगानी अवसरहरू उपलब्ध छन् ।
नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो छाता सङ्गठनका रूपमा महासङ्घले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध रहेको छ । यस बैठकका उपलब्धिहरूले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्याउने महासङ्घको अपेक्षा रहेको छ ।
नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमा द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
