
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।
राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल गरी निष्कासन गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने यसको अवधि एक वर्ष रहनेछ। साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैङ्कले न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ। जारी हुने ऋणपत्रलाई राष्ट्र बैङ्क तथा अन्य बैङ्क तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। प्राप्त प्रस्तावका आधारमा स्वीकृत ब्याजदर निर्धारण गरी सोही अनुसार ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैङ्कले जनाएको छ।
राष्ट्र बैङ्कका अनुसार स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यद्यपि यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातको गणनामा भने समावेश गर्न सकिने व्यवस्था रहेको छ।
राष्ट्र बैङ्कले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
