
नेपाल धितोपत्र बोर्डले शेयर बजारमा प्रवेश गर्न लागेका लगानीकर्ता तथा विद्यार्थीलाई लक्षित गर्दै ९ बुँदे सन्देश जारी गरेको छ। बोर्डले आजदेखि सुरु भएको ‘वर्ल्ड इन्भेस्टर विक’को अवसरमा नवप्रवेशी लगानीकर्ता तथा विद्यार्थीका लागि उक्त सन्देश सार्वजनिक गरेको हो।
सप्ताहव्यापी ‘वर्ल्ड इन्भेस्टर विक’ कार्यक्रम धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी), स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, स्टक डिलर्स कम्पनी तथा क्रेडिट रेटिङ कम्पनीहरूको संयुक्त आयोजनामा सुरु भएको हो।
कार्यक्रम असोज २५ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत विशेष गरी आम लगानीकर्ता तथा विद्यार्थीलाई धितोपत्र बजार, लगानीका आधारभूत पक्ष तथा बजारसम्बन्धी आवश्यक जानकारी प्रदान गरिने बोर्डले जनाएको छ।
यस्ता छन् सन्देश
- सुरुदेखि नै नियमित बचत गर्ने तथा विवेकपूर्ण रुपमा लगानीसम्बन्धी निर्णय गर्ने स्वस्थ वित्तीय बानीको विकास गर्नुहोस्।
- अध्ययन गरेर मात्र लगानी गर्ने गर्नुहोस्।
- धितोपत्र बजारमा लगानी प्रारम्भ गर्दा प्राथमिक बजारमा अंकित मूल्यमा निष्काशन भएका बा सामूहिक लगानी कोषको धितोपत्रबाट लगानी प्रारम्भ गर्नुहोस्।
- प्राथमिक बजारमा लगानी प्रारम्भ गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आह्वानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङस्तरजस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानी गर्नुहोस्।
- आफ्नो प्रतिफलको लक्ष्य र जोखिम बहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण गरी सानो–सानो बचत रकमबाट लगानी सुरु गर्नुहोस्।
- क्षमताका धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सही सूचना लिई जोखिम बहन गर्न सक्ने अमआधारमा लगानीसम्बन्धी निर्णय लिनुहोस्।
- कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा प्रकाशन गरेको वित्तीय विवरण, कार्य सम्पादन स्थिति मूल्य संवेदनशील सूचना, कम्पनीको भावी योजनाहरु, आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, मूल्य प्रवृत्ति र सम्बन्धित उद्योग तथा क्षेत्रको अवस्थालगायत पक्षहरुको अध्ययन गरेर लगानी गर्नुहोस्।
- आफ्नो दीर्घकालीन वित्तीय अवस्थामा नकारात्मक असर पार्न सक्ने उच्च लागतका कर्जाबाट सावधान रहनुहोस्। सम्भव भएसम्म ऋण लिएर लगानी नगर्नुहोस्।
- सामाजिक सञ्जालमार्फत इन्फुन्सरहरुले सिफारिस गरेका तथा लगानीका अवसरहरु भन्दै अत्यधिक प्रचार–प्रसार गराइएका एवं विभिन्न अनलाइन समूहहरुमा विज्ञापनार्थ कृतिम बुद्धिमत्ता (एआई)को प्रयोग गरी उत्पादित सामग्रीबाट सचेत रहनुहोस्।
