आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्दै उक्त व्यवस्था लागू गर्न लागेको हो।
नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताले अब राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, हाल डिम्याट खाता सञ्चालन गरिरहेका लगानीकर्ताले केवाईसी (Know Your Customer) विवरण अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
सीडीएससीका अनुसार पुँजी बजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, एकीकृत र विश्वसनीय बनाउन यो व्यवस्था लागू गर्न लागिएको हो। पछिल्ला वर्षहरूमा डिम्याट खाता, मेरो शेयर तथा अनलाइन कारोबारमा आबद्ध लगानीकर्ताको सङ्ख्या तीव्र रूपमा बढ्दै जाँदा दोहोरो खाता तथा गलत विवरणसम्बन्धी समस्या पनि देखिँदै आएका छन्।
राष्ट्रिय परिचय नम्बरलाई आधार बनाएर लगानीकर्ताको एकीकृत पहिचान कायम गर्न सकिने र नियामयकी निगरानीलाई समेत प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीडीएससीले सबै लगानीकर्तालाई साउन १ गतेअघि नै राष्ट्रिय परिचय नम्बर प्राप्त गरी आवश्यक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। राष्ट्रिय परिचय नम्बर नभएका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत परिचय नम्बर प्राप्त गर्न सक्नेछन्।
साउन १ देखि नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
