
बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले पुनः ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत बैङ्किङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो।
राष्ट्र बैङ्कले असोज २१ गते ३० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्नेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्रै सहभागी हुन पाउनेछन्। बोलकबोल राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टममार्फत आज अपराह्न ३ बजेसम्म हुनेछ।
निक्षेप सङ्कलन उपकरणमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ। उनीहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
२८ दिन अवधिको उक्त निक्षेप सङ्कलन उपकरणमा राखिएको रकमको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिने राष्ट्र बैङ्कले जनाएको छ।
बैङ्किङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
