नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छः ढकाल

chandra dhakal

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताउनु भएको छ । चितवन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १३ औँ चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

“निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ ।”

आइएमएई समूहका अध्यक्षसमेत रहनुभएका ढकालले गैँडाकोटमा निर्माणाधीन केबलकारको भौतिक निर्माणभन्दा प्रक्रिया पूरा गर्न बढी समय खर्चनुभएको स्मरण गर्नुभयो । सरकारले नीतिगत सुधार र निजी क्षेत्रको संरक्षकत्व र अभिभावकत्व लिइदिने हो भने अपेक्षा गरिएभन्दा अगावै आर्थिक विकासलाई परिणाममुखी रूपमा अघि बढाउन आफूहरू सक्षम रहेको उहाँको भनाइ छ ।

बागमती प्रदेशका मुख्यमन्त्री, भरतपुर महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले अघि सारेका आर्थिक गतिविधि बढाउने कार्यक्रमलाई सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले सहयोग गर्नु अपरिहार्य रहेको बताउनुभयो । “तीन वटै तहका सरकारले चाहेको रोजगारी वृद्धि, आर्थिक गतिविधि बढाउने कार्यक्रम नै हो,” उहाँले भन्नुभयो, “निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ । सरकारले नीतिगत सुधार गर्ने हो भने छोटो समयमै आर्थिक गतिविधि बढाउन सकिन्छ ।”

सबै तहका सरकारहरूले परम्परागत नियम कानुन परिवर्तन गर्ने आँट गर्नुपर्ने ढकालको धारणा छ । उहाँले निजी क्षेत्रलाई पनि लगानीमैत्री कानुन निर्माणका लागि निरन्तर दबाब दिइरहन सुझाव दिनुभयो । स्थानीय र प्रदेश तहमा जिल्ला नगर र प्रदेश उद्योग वाणिज्य सङ्घले जनप्रतिनिधिहरूलाई झकझकाउनुपर्ने र आफूहरूले सङ्घीय सरकारलाई सल्लाह सुझाव दिने उहाँको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले चितवनलाई नेपालकै वृहत् पर्यटकीय स्थल बनाउने प्रस्ताव समेत राख्नुभयो । चितवनको अनुपम प्राकृतिक सौंदर्यलाई उपयोग गर्नुपर्ने र नेपालको मध्य भूभागमा रहेका कारण यहाँको पर्यटकीय सम्भावना बढी रहेको उहाँको भनाइ छ । चितवनको सम्पदा सदुपयोगका लागि सरकारबाट विधिवत् निर्णय भए निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

चितवन महोत्सवले निजी क्षेत्र जस्तोसुकै अप्ठेरो अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने प्रमाणित गरेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष आइतबारदेखि सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x