आज देखि नयाँ सङ्केत नं.को रुपैयाँ ५०० दरको नोट प्रचलनमा, हेर्नुहोस् उक्त नोटको विशेषता


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कले रुपैयाँ ५०० दरको नयाँ सङ्केत नं.को नोट प्रचलनमा ल्याउने सूचना सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गर्दै रुपैयाँ ५०० दरको सङ्केत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म को नोट यही २०७८ साल पुस महिना ९ गते देखि चलनचल्तीमा ल्याउने व्यहोरा सर्वसाधारण समक्ष जानकार गराएको हो ।

यस अघि राष्ट्र बैङ्कले मिति २०७५ साल वैशाख महिना १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैङ्क नोट सङ्केत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनी सूचना प्रकाशित गरेको थियो। तर, बैङ्कले समीक्षा अवधिमा रुपैयाँ ५०० दरको सङ्केत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र चलनचल्तीमा ल्याएको सूचित गराएको छ ।

यही २०७८ साल पुस महिना ९ गते देखि चलनचल्तीमा ल्याइने उक्त रुपैयाँ ५०० को नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहने र दायाँतर्फ लालीगुराँसको पानी छाप रहने केन्द्रीय बैङ्कले उल्लेख गरेको छ। त्यस्तै, नोटको अग्र भागमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत हुने तथा नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा "वि.सं. २०७७" लेखिएको हुने केन्दिय बैङ्कले जनाएको छ। उक्त नोटमा ३.५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहेको हुने बैङ्कले बताएको छ ।

यसका साथै अन्य विशेषताहरुमा सो नोटको अग्र भागमा सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरको चित्र रहने र लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हुरेल स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुई वटा कालो थोप्लाहरू हुने सूचनामा उल्लेख छ ।

यता, नेपाल राष्ट्र बैङ्कद्वारा आज देखि चलनचल्तीमा ल्याइने उक्त रुपैयाँ ५०० को नोटको पृष्ठ भागको मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा "NEPAL RASTRA BANK" लेखिएको हुनेछ भने मध्य भागमा पाटे बाघको चित्र, तल्लो भागमा अङ्ग्रेजीमा “RUPEES FIVE HUNDRED" लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अङ्ग्रेजीमा "2020 A.D." लेखिएको देख्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x