कात्तिकसम्ममा साढे ५५ अर्ब बराबरको थप ४७ करोड कित्ता धितोपत्र नेप्सेमा सूचीकृत


ज्ञानमाण्डू।राष्ट्र बैङ्कका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक वर्ष २०७८/७९ कात्तिक महिनाको अन्त्यसम्ममा कुल ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैङ्कद्वारा प्रकाशित प्रतिवेदन अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को चौथो महिनासम्ममा नेपाल स्टक एक्सचेन्जमा ३४ अर्ब ५२ करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण शेयर, २ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ३ करोड रुपैयाँ बराबरको बोनस शेयर र ८ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको ४७ करोड १ लाख २१ हजार कित्ता थप धितोपत्र सूचीकृत भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको कुल १ अर्ब २३ करोड ९२ लाख ४१ हजार कित्ता धितोपत्र सूचीकृत भएका थिए।


चालु आर्थिक वर्ष २०७८/७९ कात्तिक महिनाको अन्त्यसम्ममा वाणिज्य बैङ्क उपसमूहको ३१ अर्ब २ करोड रुपैंया बराबरको ३ करोड १० लाख कित्ता धितोपत्र नेप्सेमा सूचिकृत हुँदा विकास बैङ्क उपसमूहको ३ अर्ब ५० करोड रुपैंया बराबरको ३५ लाख कित्ता, बीमा(जीवन र निर्जीवन) समूहको ३ अर्ब ३ करोड रुपैंया बराबरको ३ करोड ३ लाख कित्ता, वित्त उपसमूहको २८ करोड २९ लाख रुपैंया बराबरको २८ लाख २९ हजार कित्ता, लघुवित्त उपसमूहको १ अर्ब २३ करोड रुपैंया बराबरको १ करोड ३६ लाख कित्ता, उत्पादन उपसमूहको २९ लाख रुपैंया बराबरको २९ हजार कित्ता, जलविद्युत उपसमूहको १३ अर्ब ६० करोड रुपैंया बराबरको १३ करोड ६० लाख कित्ता र अन्य उपसमूहको २ अर्ब ७७ करोड रुपैंया बराबरको २५ करोड २७ लाख कित्ता धितोपत्र नेप्सेमा सूचिकृत भएका छन्।



समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण शेयर, १ अर्ब ६० करोड बराबरको डिबेन्चर र २४ करोड ३३ लाख बराबरको हकप्रद शेयर गरी कुल ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ साल कात्तिकमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । गत वर्ष २०७७ साल कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x