कृषि उत्पादनको निर्यात बढाइ विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

 


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताउनुभएको छ । नेपाल कुचो सङ्घको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा शनिवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा संचितिको समस्या समाधान गर्न कृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताउनुभयो।

“कृषि उपजहरूको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्छ,” उहाँले भन्नुभयो । उहाँले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको रूपमा आफूले पहल गर्ने बताउनुभयो।

“यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रूपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपाईँहरूले यस क्षेत्रका समस्याहरू लिखित रुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको रूपमा महासङ्घको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईँहरूका समस्या समाधान गर्न तयार रहनेछु,” उहाँले भन्नुभयो।

उहाँले नेपाल भूपरिवेष्टित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको बताउनुभयो। वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउँदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

“कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रवर्द्धन गर्ने र जलविद्युत उत्पादन गरी निर्यात गर्ने जस्ता तीन वटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिटेन्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ,” उहाँले भन्नुभयो।

वरिष्ठ उपाध्यक्ष ढकालले सङ्घको प्रथम वार्षिक साधारण सभाको सफलताको कामना गर्दै सङ्घको साधारण सभाबाट सक्षम र क्रियाशील नेतृत्व चयन हुने विश्वास समेत राख्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x