सिटिजन्स बैंकको मुनाफा ४१.६१ % ले वृद्धि , चालू आ.व.मा १५ % लाभांश वितरण गर्ने क्षमता

ज्ञानमाण्डू। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले खूद नाफा र वितरणयोग्य मुनाफामा उत्साहजनक प्रगति गरेको छ भने यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरूमा सुधार देखिएको छ।

कोभिड-१९ को महामारीका कारण सिर्जित असहज अवस्थाका बाबजुद पनि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आ.व. २०७६/७७ को तेस्रो त्रयमास अर्थात् चैत मसान्तसम्ममा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत वर्षको सोही अवधीको तुलनामा ४१ दशमलव ६१ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई गत आ.व. सोहि अवधिको तुलनामा  रू. ४५ करोड अधिक खुद मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधि(चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमास अर्थात् चैत मसान्त)सम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रयमाससम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ९ लाख रुपैयाँ रहेको थियो। बैंकले गत वर्षको सोही अवधीको तुलनामा २२७ दशमलव ५८ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्धि भएको जनाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रयमास अर्थात् चैत मसान्तसम्ममा २ अर्ब २४ करोड रुपैयाँमा सीमित सिटिजन्स बैंक इन्टरनेशनलको खूद ब्याज आम्दानी बढेर चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्म आई पुग्दा २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १३ दशमलव १९ प्रतिशतको बढोत्तरी गर्न सफल भएको देखिन्छ ।

गत आ.व. २०७६/७७ को तेस्रो त्रयमाससम्ममा ९ अर्व ६ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन्स बैंक इन्टरनेशनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरे पश्चात् बैंकको चुक्ता पूँजी चालू आ.व. चैत मसान्तसम्ममा ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधीको तुलनामा बैंकको चुक्ता पूँजी २८.५८ प्रतिशतले वृद्धि भएको छ । सिटिजन्स बैंक इन्टरनेशनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरी गत चैत १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो।

समीक्षा अवधिसम्ममा बैंकको जगेडा कोष २० दशमलव ५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रयमाससम्म बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। साथै , बैंकको संचित मुनाफा ४४ दशमलव ६६ प्रतिशतले वृद्धि १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। गत आ.व. २०७६/७७ को तेस्रो त्रयमाससम्म बैंकको संचित मुनाफा ९३ करोड ११ लाख रुपैयाँ रहेको थियो।

बैंकको चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमाससम्ममा कर्जातर्फ रू. ३० अर्बले वृद्धि भई कुल कर्जा लगानी रकम रू. १ खर्ब ८ अर्ब पुगेको छ । बैंकले गत आ.व. २०७६/७७ को तेस्रो त्रयमास अर्थात् चैत मसान्तसम्ममा ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले कर्जा लगानीतर्फ गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ४३ दशमलव ६८ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

साथै बैंकले  गत आ.व. तेस्रो त्रयमाससम्मको अवधिको तुलनामा निक्षेप संकलनतर्फ रू. ३९ अर्बले वृद्धि गरी कुल निक्षेप संकलन रू. १ खर्ब २७ अर्ब पुर्याउन सफल भएको छ । बैंकले गत आ. व. २०७६/७७ को तेस्रो त्रयमास अर्थात् चैत मसान्तसम्ममा ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ३७ दशमलव ९२ प्रतिशतको वृद्धि गरेको देखिन्छ ।

गत आर्थिक वर्षको अन्त्यमा ०.९७ प्रतिशत रहेको सिटिजन्स बैंक इन्टरनेशनलको निष्कृय कर्जा यस आर्थिक वर्षको तेस्रो त्रयमाससम्म आइपुग्दा १ दशमलव ८३ प्रतिशतमा कायम भएको बैंकले जनाएको छ ।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८७ पैसाले बढेर २० रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ पनि १ रुपैयाँ १ पैसाले बढेर १४६ रुपैयाँ ८७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर खुद मूल्य १४६ रुपैयाँ ८७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव ९४ गुणा रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रयमास अर्थात् चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। उक्त वितरणयोग्य मुनाफालाई वार्षिकरण गर्दा वितरणयोग्य मुनाफा १ अर्ब ७९ करोड हुन आउँछ। उक्त वार्षिकरण गरिएको वितरणयोग्य मुनाफालाई हाल कायम शेयर संख्या ११ करोड ६६ लाख २० हजार ४०९ कित्ता शेयरले भाग गर्दा १५ प्रतिशत हुन आउँछ। यस अर्थ,  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आ.व. २०७७/७८ मा १५ दशमलव ४ प्रतिशत लाभांश आफ्ना लगानिकर्ताहरु माझ वितरण गर्ने क्षमता बनाएको देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x