लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

ज्ञानमाण्डू।काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गाैलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँच वटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । 

लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको कामपाले जानकारी गराएको छ ।

“लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ”, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।”

सोमबार कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल (काठमाडौँ जिल्ला कार्यसमिति)सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने भएको हो । कामपाका प्रशासन विभाग प्रमुख नवराज ढकाल र संयुक्त एम्बुलेन्स चालक सङ्घका तर्फबाट अध्यक्ष गोवर्द्धन सापकोटाले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनले करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाइने छैन । त्यसै गरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरूको नाम, थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नुपर्नेछ । निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग थप भाडा दस्तुर वा सेवा शुल्क लिन पाइनेछैन भने निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउनजान आनाकानी वा मोलतोल गर्न पाइने छैन ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x