भत्ता लिन वृद्धवृद्धालाई सास्ती

ज्ञानमाण्डू।कृषि विकास बैङ्क, बैङ्किङ कार्यालय धनगढीमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ता रकम बुझ्नेको केही दिन यता भीड लागेपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

भीडका कारण भुक्तानी लिन असहज भई सेवाग्राहीलाई सास्ती भएको हो । “दिनभरि लाइनमा बसेर भुक्तानी लिनु पर्दा आफू बिरामी परिएला जस्तो भयो”, बैङ्किङ कार्यालयमा भेटिनु भएकी धनगढी उपमहानगरपालिका–२ की लक्ष्मीदेवी साउदको भनाइ छ । सेवाग्राहीको भीडले बैङ्कका अन्य सेवासमेत प्रभावित भएका छन् । बैङ्कमा भत्ता बुझ्नेको भीड लागेपछि केही दिनदेखि रकम निक्षेप गर्न नपाएर फर्किनु परेको अन्य सेवाग्राहीले गुनासो गरेका छन् । 

बैङ्कका प्रबन्धक जगदीश पन्तले भत्ता बुझ्न आउनेको भीडका कारण बैङ्कका अन्य सेवा प्रभावित भइरहेको स्वीकार गर्दै कार्यालय समय बाहिर अपराह्न ५ बजेसम्म काम गरेर भए पनि सेवाग्राहीलाई सेवा प्रदान गर्नु परेको बताउँछन् । भीडका कारण आइतबार बैङ्कको काउन्टरका तीन ढोकामध्ये दुई ढोकामा चुकुल लगाएर वृद्धवृद्धा, एकल महिला, अशक्त व्यक्तिलगायतलाई भत्ता रकम भुक्तानी दिनुपरेको थियो ।

बैङ्कले भत्ता रकम भुक्तानीको सहज व्यवस्थापन गर्न नसक्दा वृद्धवृद्धा, अशक्तले निकै सास्ती खेपिरहेको देखिएको बैङ्कका अर्का सेवाग्राही मनिस जोशीले गुनासो गरे । ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता भएलगाएतका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता रकम उपलब्ध गराउने गरेको छ । 

“धनगढी उपमहानगरपालिका कार्यालयले भत्ता पाउनेको रकम निकासा गरी पठाएकाले भत्ता लिनेको भीड लागेको हो”, प्रबन्धक पन्तले भने , “उपमहानगर क्षेत्रका वडाको हिसाबमा यस्तो रकम सम्बन्धितलाई भुक्तानी दिइरहेका छौँ ।”उपमहानगरपालिका कार्यालयका प्रवक्ता सन्तोष मुडभरीले आगामी आर्थिक वर्षदेखि प्रत्येक वडा नजिकमा रहेका बैङ्कमार्फत सामाजिक सुरक्षाको भत्ता रकम भुक्तानीको व्यवस्थापन गर्ने पहल थालिएको बताए । “सरकारी बैङ्क बाहेक निजी बैङ्कमा यो रकम राख्न नपाउने सरकारको नीतिले सहज भुक्तानी गर्न समस्या भइरहेको छ”, प्रवक्ता मुडभरीले भने , “आगामी वर्षदेखि वडा नजिकका जुनसुकै बैङ्क मार्फत यो रकम भुक्तानी दिने व्यवस्था गर्ने प्रयासमा छौँ ।”रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x