आम्दा अस्पताल आफैँ बिरामी हुँदा बन्द हुने अवस्था

ज्ञानमाण्डू।पूर्वोत्तर झापाको १५ शय्याको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५० लाख अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले प्रदान गरेको जग्गामा सो अस्पताल निर्माण भएको थियो । 

आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो । सम्झौतामा तीन वटै निकायको सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरूको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ । स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पुर्‍याउने यो अस्पतालको लक्ष्य थियो ।

साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउँछन् । “सहयोगहरू कटौती हुँदै गयो, त्यसै कारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्‍याउन नसकेको हो”, अध्यक्ष तिम्सिनाले भने, “भवन, जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।” 

स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रूपमा रहेको यो अस्पताल सञ्चालनका लागि वर्षेनी करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिना बताउँछन् । 

अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण बिरामी आउन छाडेको जानकारी दिए । केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उनले जानकारी दिए । दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापा बताउँछन् । 

अस्पतालले आव २०७२-७३ मा एक हजार १७०, २०७३-७४ मा एक हजार ८६३, २०७४-७५ मा ७१८, २०७५-७६ मा एक हजार ८६५ र चालू आव २०७६-७७ को माघ मसान्तसम्ममा दुई हजारभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पतालका सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य आम्दा नेपाल पक्षले स्वामित्व हस्तान्तरण गरेमा नगरपालिका सम्पूर्ण व्ययभार बहन गरेर अस्पताल चलाउन तयार रहेको बताउँछन् । 

प्रमुख आचार्यले रुग्ण अवस्थाको मेची आम्दालाई चलायमान बनाउन स्वास्थ्य बिमा कार्यक्रम लागू गरेर अघि बढ्न सकिने विकल्प रहेको जनाउँदै नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण भएमा प्रदेश र सङ्घीय सरकारसँग अनुदान मागेर अस्पताल सञ्चालन गर्ने आफ्नो सोच रहेको जानकारी दिए । मेचीनगर–१० धुलाबारीमा फराकिलो परिसरमा रहेको सो अस्पतालमा दुईतलाको भव्य भवन रहेको छ । इमर्जेन्सी, ओपिडी, गाइनो, सर्जरीलगायतका विभिन्न छुट्टै वार्डहरु भएका कारण अस्पताललाई पुनःसञ्चालन गराउन भौतिक पूर्वाधार पर्याप्त हुन्छ । हाल पहिलो तलामा सबै वार्डहरु रहेको र माथ्लो तला पुरै खाली रहेको पाइएको छ । 

स्थानीय सरकार र सरोकारवाला पक्षहरुले चरम बेवास्ता गरेर अस्पताल बन्द हुने अवस्थामा पुर्‍याएको भन्दै दाता परिवारले चिन्ता प्रकट गरेका छन् । दाता परिवारका सदस्य लीला खनालले राम्रो अस्पताल बन्ने र लाखौँ झापावासीले स्तरीय उपचार पाउने विश्वासका साथ दाताले करोडौँ मूल्य पर्ने जग्गा दानमा दिएको स्मरण गराउँदै अहिले बेवारिसे अवस्थामा पुर्‍याएको देख्दा दुःख लागेको बताए । उनी प्रदेश र सङ्घीय सरकारको समेत यसमा ध्यान जानुपर्ने बताउँछन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x