ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै महिला

ज्ञानमाण्डू।पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाइ तालीम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् । 

सहकारीले तालीम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गरेकी छिन् । उनले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताइन् । बेरोजगार बसेका महिलालाई सहकारीबाट तालीम पाएपछि रोजगार बनाएको उनको भनाइ छ । 

ढाका कपडा सिलाएर उहाँले मासिक रु २० हजार आम्दानी गर्नुहुन्छ । यसैबाट घरखर्च, छोराछोरीको पढाइ खर्च चलेको छ । सहकारीले दुई पटकसम्म गरी २० जना महिलालाई चार महिनाको तालीम उपलब्ध गराएपछि महिला व्यवसायमा अग्रसर भएर लागेका छन् । पहिलादेखि नै सिलाइ कटाइको काम गर्दै आउनुभएकी इन्दु परियारले पनि ढाका कपडाको तालीम पाएपछि पेशालाई व्यावसायिक तवरले अगाडि बढाएकी छिन् । तालीमपश्चात् अहिले व्यावसायिक रूपमा पसल सञ्चालन गरी आफू मात्र नभई चार जनालाई रोजगारीसमेत दिएको परियारको भनाइ छ । 

सहकारीले व्यावसायिक बनाउन रामपुरका २० महिलालाई ढाका कपडा सिलाइ तालीम तथा एक–एक वटा मेशिनसमेत उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए । व्यवसाय गर्न सोच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिला सहकारीमार्फत सीपमूलक तालीम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । रामपुरमा नै ढाका कपडाका विभिन्न उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिला बताउँछन् । 

सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद महिलाले व्यवसाय चलाउने गरेका छन् । रामपुर क्षेत्रमा विशेष गरी झोला, हाते पर्स, आस कोट, चोलीहरु, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ । रामपुर घुम्न आएका व्यक्तिले ढाकाको कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा लैजाने गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गम स्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री विशेष आकर्षणका रूपमा रहेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x