प्रभु बैंकको लाभांश पारित, सेञ्चुरी बैंकसँग पुस २९ गते देखि एकीकृत कारोबार

आज मिति २०७९/०९/१४ गते बिहिबारका दिन बिहान ९:०० बजे बोलाएको प्रभु बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा विभिन्न निर्णयहरू पारित गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौँ, बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको बैंकको २१औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ । बैंकको २१औँ वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

आज सम्पन्न बैंकको २१औँ वार्षिक साधारण सभामा छलफल तथा निर्माणार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरू पारित गर्दै बैंकले गत आ.व. २०७८/७९ को मुनाफाबाट गत आ.व. २०७८/०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पारित गरेको छ । वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लि. को १०० कित्ता शेयर बराबर प्रभु बैंक लि. को १०० कित्ता शेयर प्रदान गर्ने (Share Swap Ratio) गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ति (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतिबाट पारित/अनुमोदन गरेको छ । आज सम्पन्न वार्षिक साधारण सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । आज सम्पन्न वार्षिक साधारण सभाबाट पारित निर्णय अनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरूबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।

आज सम्पन्न बैंकको २१औँ वार्षिक साधारण सभाले ६.५० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ । प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ६३ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरू सहित देशभर फैलिएको आफ्नो बैंकिङ्ग सञ्जालको माध्यमबाट १९ लाख भन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । बैंकको २१औँ वार्षिक साधारण सभाको अवसरमा प्रभु बैंकको उत्तरोत्तर उन्नति प्रगतिको शुभेच्छा प्रकट गर्नुहुने समस्त शुभेच्छुकहरू, बैंकको व्यावसायिक वृद्धिमा यथेष्ट साथ र सहयोग प्रदान गर्नुहुने ग्राह वर्ग, नियामयकी निकायहरू, शेयरधनी महानुभावहरू लगायत सम्बन्धित सबैमा प्रभु बैंक लि. को तर्फबाट हार्दिक, हार्दिक धन्यवाद व्यक्त गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x