११ जिल्लाहरूमा बैङ्क तथा वित्त संस्थाहरूको कुल शाखा सङ्ख्या २० भन्दा कम

नेपालका ७७ जिल्लाहरू मध्ये ११ वटा जिल्लाहरूमा वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूकाे समेत गरी कुल शाखा सङ्ख्या २० भन्दा कम रहेको छ भने काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार १२८ शाखाहरू हुँदा लुम्बिनी प्रदेशको जिल्ला रुकुम पूर्व र कर्णाली प्रदेशको जिल्ला मुगुमा सबै भन्दा थोरै ८ वटा शाखाहरू मात्र रहेका छन् । रुकुम पूर्व र मुगु जिल्लामा वाणिज्य बैङ्कहरूले मात्र शाखाहरू खोलेका छन् । दुवै जिल्लामा विकास बैङ्कहरू र फाइनान्सहरूको भने कुनै शाखा छैन ।

न्यून शाखा हुने अन्य जिल्लाहरू मध्ये कर्णाली प्रदेशको जिल्ला हुम्लामा बैङ्कका १० शाखाहरू रहेका छन् । १० मध्ये ९ वाणिज्य बैङ्कका शाखाहरू हुन् भने एउटा विकास बैङ्कको शाखा रहेको छ । त्यस्तै, गण्डकी प्रदेशको मनाङमा ११ शाखाहरू छन् । त्यहाँ पनि ११ वटै शाखाहरू वाणिज्य बैङ्कका रहेका छन् । बैङ्कका २० शाखाहरू पनि नभएका अन्य जिल्लाहरू डोल्पा, जाजरकोट, बाजुरा, कालिकोट, मुस्ताङ, बझाङ र बैतडीमा क्रमशः  १३, १४, १४, १५, १७, १९ र १९ वटा शाखाहरू रहेका छन् । 
 
राजधानी भएकाले आर्थिक क्रियाकलाप र जनसङ्ख्याको आधारमा काठमाडौँमा शाखा सञ्जाल धेरै हुनु स्वाभाविक नै हो । काठमाडौँमा वाणिज्य बैङ्कहरूका ९३३, विकास बैङ्कहरूका १४६ र फाइनान्स कम्पनीहरूका ४९ वटा शाखाहरू गरी जम्मा १ हजार १२८ शाखाहरू छन् । काठमाडौँ पछि धेरै शाखाहरू भएको जिल्ला रुपन्देही हो । लुम्बिनी प्रदेशको व्यापारिक हबको रूपमा चिनिएको रुपन्देहीमा ३३४ शाखा रहेका छन् । तेस्रोमा गण्डकी प्रदेशको कास्कीमा ३०२ शाखाहरू हुँदा उपत्यकाको अर्को जिल्ला ललितपुरमा भने २६७ शाखाहरू रहेका छन् । प्रदेश १ को व्यापारिक केन्द्र मोरङमा २४७ शाखाहरू हुँदा चितवनमा २४५ शाखाहरू छन् । 
 
नेपालका ६८ जिल्लाहरूमा विकास बैङ्कहरूका शाखा रहेका छन् भने ९ जिल्लाहरूमा विकास बैङ्कहरूको उपस्थिति नै छैन । त्यस्तै वित्त कम्पनीहरिको शाखा ४२ जिल्लाहरूमा मात्र पुगेको छ भने बाँकी ३५ जिल्लाहरूमा वित्त कम्पनीहरूको शाखा सञ्जाल छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%
0.00%
33.33%
0.00%
33.33%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x