मनै लोभ्याउने गोरखाको न्याउली झरना

उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैँमा मनमोहक र प्राकृतिक सौन्दर्ययताले भरिपूर्ण छ । मनासलु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एक पटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् ।

धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बिचमा अवस्थित न्याउली झरनाप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकमा पनि उत्तिकै छ । बूढी गण्डकी नदीको काखैमा करिब ५५ मिटर उचाइ रहेको न्याउली झरनाको सौन्दर्ययताले प्रचुर पर्यटकीय सम्भावनाले भरिपूर्ण धार्चे गाउँपालिकालाई थप लोकप्रिय बनाउँदै लगेको छ ।

मनासलु पदमार्गमा पैदल यात्रा क्रममा होस् सवारी साधन चढेरै गएको अवस्थामा होस् पर्यटक एक पटक न्याउली झरनामा पुगेर तस्बिर नखिचाई प्रायः अगाडि कोही बढ्दैनन् । धार्चेको प्रचारसँगै न्याउली झरनाको प्रचारका लागि निर्माण गरिएका फोटो खिच्ने आकर्षक फ्रेममा पर्यटक टक्क अडिन्छन्, तस्बिर खिचाउँछन् रमाउँछन्, अनि मात्र गन्तव्यतर्फ अगाडि बढ्छन् ।

“झरनाको फेदीमा फोटो खिच्नका लागि बनाइएको आकर्षक संरचनाले न्याउली झरना झनै सिँगारिएको रहेछ, झरना नजिकै भेटिनुभएका आन्तरिक पर्यटक गुर्जमान तामाङले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको न्याउली झरनाको सुन्दर फोटोहरुले मन लोभ्याएपछि सदरमुकामदेखि घुम्न आएको हुँ ।”

माथिबाट नै फिँजारिएर झरिरहने निश्चल झरनाले पर्यटकलाई त्यत्तिकै अलमल्याइदिने गरेको छ । “छेउमा पुगेपछि झरनासँगै आएको पानी फोहोराले शरीर नै भिजाइदेला जस्तो, साँच्चै यहाँ आएपछि बेग्लै अनुभूति हुने रहेछ”, उहाँले भन्नुभयो, “यसैको मज्जा लिन पनि एक पटक त आउनै पर्ने रहेछ भन्ने लाग्यो ।”

गोरखा सदरमुकामबाट आरुघाट, आर्खेत, सोतीबजार हुँदै बूढी गण्डकी नदीको तिरतिरै भएर न्याउली झरना पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताकै उपहारका रूपमा लिन सकिने यस झरनाले पर्यटकको मन मात्र भुलाई दिँदैन मनभित्रका बहलाई पनि बिर्साइदिन्छ । दायाँबायाँ अग्ला पहाड, फेदीमा बूढी गण्डकी नदीको कञ्चन पानीको बहावसँगै पहाडबाट खसेको न्याउली झरनाको फोहोरा मोबाइल र क्यामरामा कैद गर्न पाउँदा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।

न्याउली झरनाको चर्चाले आन्तरिक पर्यटकसमेत घुम्नका लागि आजभोलि दिनुहँजसो त्यहाँ पुग्ने गर्दछन् । विशाल पहाड फोरेर निर्माण गरिएको कच्ची सडकमा जीप, मोटरसाइकल र बस नै चढेर पनि पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा न्याउली झरना पर्ने गरेको छ । “न्याउली झरना हेर्नकै लागि युवायुवती समूह–समूहमा दिनहुँ आउने जाने गर्दछन्”, स्थानीयवासी मानबहादुर गुरुङले भन्नुभयो, “यसको व्यापक प्रचारप्रसार गर्न धार्चेले प्रशस्त लाभ लिन सक्छ ।”

न्याउली झरना वरपर थप आकर्षक संरचना निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । “अहिले झरनामुनि मोटरेवल पुल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “उक्त पुल निर्माण सम्पन्न भएपछि झरनासम्म पुग्नका लागि थप आकर्षक संरचना बनाउन डिपिआरको तयारी गरिरहेका छौँ ।”

न्याउली झरनालाई धार्चे गाउँपालिकाले पछिल्लो समय धार्चेको एउटा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । यसको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमार्फत समग्र धार्चेको विकास र समृद्धिमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको उहाँले बताउनुभयो ।

“यो झरनालाई देश तथा विदेशमा चिनाउन अझै सकिएको छैन”, अध्यक्ष गुरुङले भन्नुभयो, “प्रकृतिले दिएको मनोरम उपहारको प्रचारप्रसार गर्न सके यहाँका स्थानीयवासीको जीविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिन्छ ।” अध्यक्ष गुरुङले पर्यापर्यटनमार्फत पनि धार्चे गाउँपालिकाको विकास र समृद्धिलाई अगाडि बढाउन सकिने भएकाले स्थानीय सरकारले योजनाबद्ध ढङ्गले काम सुरु गरेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x