अध्यक्ष ढकालद्वारा युएईका लगानीकर्तालाई नेपालको जलविद्युत, पर्यटन, कृषि तथा सूचना प्रविधिमा लगानी गर्न आह्वान

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गर्नु भएको छ ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताउनु भएको हो ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताउनु भयो । आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले  लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि  उल्लेख गर्नु भयो ।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटेल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गर्नु भयो ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि  युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनु भयो ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा  युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकोले  नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेको तर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने बताउनु भयो ।

नेपाल र युएई बिच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने  प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै  अध्यक्ष ढकालले लगानी प्रवर्द्धनमा सरकारको सहयोग महत्त्वपूर्ण हुने बताउनु भयो ।

दुई देशबिचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराउनु भयो ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x